जनकपुरधाम । साउनको पहिलो सातादेखि मधेश प्रदेशसहित देशभर कोरोना संक्रमण बढ्दै गएको छ । गएको भदौ महिनादेखि मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दै गएको थियो । संक्रमितको संख्या ह्वातै घटेपछि जनजीवन सामान्य बनेको थियो । तर, असार मसान्त समाप्त हुँदै कोरोना संक्रमण तीव्र रुपमा बढेको हो । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना संक्रमित भेटिन थालेका छन् ।
चार महिनादेखि बन्द पीसिआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि संक्रमित फेला पर्न थालेका हुन् । गत चैतको अन्तिम सातादेखि संक्रमित नभेटिएपछि बन्द गरिएको पीसिआर परीक्षणलाई पुनः सुरु गरिएपछि संक्रमित भेटिन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए ।
सिंहका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा भएको पिसिआर परीक्षणको रिपोर्टअनुसार छ जना संक्रमित भेटिएका छन् । ३४ जनाको स्वाब परीक्षण गर्दा ६ जना महिलामा संक्रमण पुष्टि भएको उनले बताए ।
ज्वरो, खोकीको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये शंका लागि पीसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा सिंहले जानकारी दिए । अठार वर्षदेखि २४ वर्ष उमेर समूह रहेका ती महिला संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र हाल देखिएको खोकी तथा ज्वरोको घरमै राखी उपचार भइरहको उनले बताए ।
नारायणी अस्पतालमा हाल प्रत्येक मंगलबार शंका लागेका बिरामीको पीसिआर परीक्षण सुरु गरिएको र यो संख्या बढ्दै गए परीक्षणको दायरालाई बढाउँदै लैजाने अस्पताल प्रशासनले जनाएको छ ।
केही दिनदेखि कोरोना संक्रमण पुनः बढ्न थालेपछि धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेश प्रदेशमा शून्य रहेको कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले अपिल जारी गरी सर्तकर्ता अपनाउन भनेको हो ।
हाल कोभिड–१९ को संक्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, संक्रमणको शंका भएमा संक्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी अपिलमा उल्लेख छ ।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा छ जना कोरोना संक्रमित पाइएको छ । यसअघि गत मंगलबार पनि प्रदेशमा चार जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
योसँगै मधेश प्रदेशमा कोरोना पोजेटिभका सक्रिय संक्रमितको संख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, पर्साको वीरगन्ज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नभेटिएको निर्देशानालयले जनाएको छ ।
मधेश प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यता पछिल्लो समय देशमा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
हाल सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ रहेका छन् । विगत २४ घण्टामा ५६ जना संक्रमणमुक्त भएका छन् । काठमाडौँ जिल्लामा ५०० बढी संक्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । आठ जिल्लामा शून्य संक्रमित रहेका छन् ।
हाल होम आइसोलेशनमा दुई हजार ३९६, संस्थागत आइसोलेशनमा १४१ र सघन उपचार कक्ष (आइसियु)मा १९ जना उपचार भइरहेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech