गौर । रौतहटको वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौरामा दाइजोका कारण नवविवाहित युवतीको हत्या भएकोमा सासु र नन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ससुरा चन्देश्वर दास र श्रीमान रमाकान्त दासको मिलेमतोमा सासु शिवा देवी, देवर उमाकान्त दास, नन्द रञ्जना दास, ठूला ससुरा विन्देश्वर दासले गएको साउन २ गते बेलुका २० वर्षीया सविता भनिने सञ्जु कुमारी दासको हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आरोप लगाएका छन् ।

हत्या आरोपमा मृतक सन्जुकी सासु शिवा देवी र नन्द रञ्जना दासलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रौतहटका प्रहरी नायब उपरिक्षक बरुण सिंहले बताए ।

सञ्जुको शव पोष्टमार्टमको लागि पठाइएको छ, प्रहरी नायब उपरिक्षक सिंहले भने–पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान अघि बढ्ने छ ।

रौतहटको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई वृन्दावन नगरपालिकाको सिसवा धमौरामा विवाह भएकी सञ्जुको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो । गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको माइती पक्षले दाबी गरेका हुन् ।

मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन् । आफूहरूसँग पटक–पटक दाइजो स्वरुप रकम माग्ने गरेको र रकम नदिएका कारण हत्या भएको उनीहरूको भनाइ छ ।

जातीय परम्परा अनुसार एक महिनाअघि २०७९ असार ६ गते रमाकान्तसँग सञ्जुको विवाह भएको थियो । विवाह भएलगत्तै दाइजो नल्याएको भन्दै छोरीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको रामचन्द्रले बताए । विवाह भएको एक महिना नबित्दै सञ्जुको ज्यान गएको छ ।

सञ्जुको बिहेमा दाइजोकै विषयलाई लिएर विवाद भई केटा र केटी पक्ष बीच कुटाकुटको घटना समेत भएको माइती पक्षले बताए । पछि विवाद मिलाएर विवाह सम्पन्न भएको थियो । बिहेको दिनदेखि नै सञ्जुले घरमा यातना पाएको माइती पक्षको आरोप छ ।

हत्या भएको दिन साँझ ६ बजेतिर सन्जुसँग इन्टरनेटमार्पmत कुरा भइरहँदा गाली गरेर फोन काट्न लगाएको सञ्जुकी आमाले बताइन् । केही बेरमा उनकी ठूली दिदीले इमोमा फोन गर्दा फोन रिसिभ भएको र सञ्जु झुण्डिएको अवस्थामा देखिएकी थिइन् ।

लगत्तै आफूहरू सञ्जुको घर पुग्दा उनलाई घरको बरण्डामा सुताएर राखेको थिए ।

सम्बन्धित खवर