विवाहको समयमा उपहारस्वरूप दिइने दाइजो प्रथा अघिल्लो समय विकृतिको रूप लिएको छ । तराईका जिल्लामा दाइजो प्रथाले अपराधको रूप लिँदै आइरहेको छ । विवाहमा केटी पक्षले भने अनुसारको दाइजो नदिँदा केटा पक्षले केटीको हत्या गरेको घटना बढेको छ ।

अघिल्लो समय रौतहट जिल्लामा पनि दाइजो नदिएकै कारण नवविवाहिता सञ्जु दासको हत्या भएको परिवारजनले आरोप लगाएका छन् । विवाह भएको एक महिना नबित्दै उनको हत्या भएको हो । यस्तो रवैया २१आंै शताब्दीको मानवताविरुद्धको गम्भीर अपराध हो । विवाह गरिसकेपछि दाइजो नदिएको निहुँमा ज्यानै लिने जस्तो घटना समाजको लागि असहय हो । यसलाई भत्र्सना वा विरोध गरेर मात्रै हुँदैन् । यस्तो अमानवीय काम गर्नेलाई कानूनी दायरामा ल्याएर कारबाही प्रक्रिया समेत अघि बढाउनुपर्छ । दाइजो विरुद्धको कानूनलाई कडाईका साथ पालना गरेर यस्ता क्रुर दानवरुपी मानवलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

नेपाली समाजमा दाइजो प्रथा नयाँ भने होइन । यो त धेरै पहिला त्रेता युगमा भारतको अयोध्याका राजा जनकले आफ्नो ज्वाईं र सम्धीलाई स्वेच्छाले खुसीको दाइजोको नाममा सुन, चाँदी, गहना, राजपाट, महल, हात्ती, घोडा पैसा आदि प्रदान गरेका थिए । त्यतिबेलादेखि नै विवाहका समयमा केटी पक्षले केटा पक्षलाई दाइजो दिने परिपाटीको विकास हँुदै आएको हो । त्यतिबेला दाइजो स्वेच्छाले प्रदान गरिन्थ्यो । कसैलाई पनि कुनै प्रकारको करकाप थिएन । त्यसैले गर्दा कुनै प्रकारको मनोवैज्ञानिक हिंसा तथा सामाजिक अपराध हुने अवस्था नै आउँदैनथ्यो ।

तर, हिजो आज नेपाली समाजमा त्यही दाइजो प्रथाले चरम विकृति र अपराधको रूप लिँदै आएको छ । यतिसम्मकी दाइजो नपाएको झोकमा आफ्नै श्रीमतीको हत्या गरिदिने, तेजाव छर्केर कुरूप बनाइदिने लगायतका सामाजिक अपराधका घटना दिनानुदिन बढिरहेका छन् ।

पैसा र धनलाई सर्वेसर्वा ठान्ने गलत सोचका कारण पनि दाइजो प्रथाले थप प्रश्रय पाउँदै आएको छ । सरकारले सामाजिक विकृति र विसंगति रोक्नका लागि विभिन्न नीतिगत र संरचनागत व्यवस्था गरे पनि समाजमा दाइजो प्रथा रोकिनुको साटो झनै बढ्दै गइरहेको छ । यसले सरकारी प्रयास औपचारिकतामा मात्रै सीमित भइरहेको पुष्टि गरेको छ ।

सम्बन्धित खवर