जनकपुरधाम । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी पुनः नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् । उनलाई शनिबार पार्टीका अध्यक्ष रामकुमार महतो लगायतले दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।
गिरीले पनि आफू पुरानो घरमा फर्किएको भन्दै खुसी साटिन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराइन् ।
कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य नागेन्द्रकुमार सिंह, कार्यक्रमको सभा अध्यक्ष समेत गरेका केन्द्रीय अध्यक्ष रामकुमार महतो, केन्द्रीय सदस्यहरू सुनितादेवी महतो, सत्यनारायण प्रसाद रौनियार, भरतप्रसाद साह, जयनारायण यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो क्रममा नेता गिरीलाई सदस्यता नवीकरणको प्रमाणपत्र प्रदान गरिएको थियो ।
तत्कालीन समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टीबाट निलम्बित गरेको थियो ।
२०७७ सालमा समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गर्दै सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको थियो ।
नेपालको नक्सा सम्बन्धी संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमो प्रस्ताव दर्ता गराएपछि सांसद गिरीलाई सांसद र पार्टीबाट निलम्बन गरेको थियो । पार्टी र सांसदबाट निलम्बित भएपछि उनी दुई वर्षदेखि मौन थिइन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech