जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले जनकपुरधाम–जटही राजमार्गलाई बैकल्पिक अन्तराष्ट्रिय व्यापारिक मार्गको मान्यता दिनुपर्ने माग गरेका छन् ।

श्रीराम युवा कमिटीले आयोजना गरेको शपथ ग्रहण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले जनकपुरबाट जटहीसम्म सिक्स लेनको सडक निर्माण भएपनि सरकारले अन्तराष्ट्रिय व्यापारिक मार्गको मान्यता नदिएको बताए । जनकपुरधाम–जटही सडकखण्डलाई बैकल्पिक अन्तराष्ट्रिय व्यापारिक मार्गका मान्यता दिए मात्रै यसको सार्थकता हुने नेता निधिले बताए । उनले जनकपुरधाम र अयोध्या बीच धार्मिक एवम् सांस्कृतिक सम्बन्ध रहेको स्मरण गर्दै यसको लागि दुवै मुलुकले सिधा सवारी संचालन गर्नमा पहल गर्नुपर्नेमा जोड दिए । नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरको जानकी मन्दिरमा २०७५ सालमा जनकपुर अयोध्या बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेपनि हालसम्म नियमित संचालनमा आउन सकेको छैन् । जनकपुर अयोध्या बस सेवा संचालनमा पहलको आवश्यक्ता उनले औल्याए । धार्मिक पर्यटक भित्रयाएर जनकपुरधामको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

उनले अहिले मधेशमा पनि विकास निर्माण कार्यले गति लिएको नेता निधिले दावी गरे । मधेश प्रदेशका गाउँहरुमा पनि ७५ प्रतिशत बढी सडक निर्र्माण भइसकेको छ, उनले भने–बाँकी रहेको पनि निर्माणाधीन अवस्थामा छ ।

नेता निधिले श्रीराम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन गराएका छन् । सो अवसरमा प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, उपमेयर किशोरी साह लगायतको उपस्थिति थियो । गएको असार महिनामा सम्पन्न श्रीराम युवा कमिटीको निर्वाचनले अध्यक्षमा परमेश्वर साह, वरिष्ठ उपाध्यक्षमा अजय कुमार ठाकुर, उपाध्यक्षमा उपेन्द्र भण्डारी र महासचिवमा पंकज कुमार आजाद विजयी भएका थिए ।

सचिव पदमा लालबाबु प्रसाद साह र कोषाध्यक्षमा विसुनदेव प्रसाद विजयी भएका थिए । त्यस्तै सदस्यहरुमा लोकेश्वर झा, रविन्द्र ठाकुर, अभिषेक कुमार ठाकुर,अमर ठाकुर, प्रकाश ठाकुर र सुदीप भण्डारी विजयी भएको निर्वाचन अधिकृत साहले जानकारी दिए ।

यसअघि नेता निधिले धनुषा निर्वाचन क्षेत्र नं. ३ को पार्टी कार्यालयको उद्घाटन गरेका थिए । जनकपुरधाम–२ मा पार्टीको क्षेत्रीय कार्यालय स्थापना गरिएको हो ।

सम्बन्धित खवर