वीरगञ्ज । पर्सा जिल्लामा भारी मात्रामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट प्रतिबन्धित लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी प्रसौनीभाठाबाट खटिएको टोलीले सीमा क्षेत्रबाट अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।
ना. ३१ प १६९२ नम्बरको मोटरसाइकलमा सवार पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रंगपुर बस्ने २७ वर्षीय सन्तोष पटेल र सोही ठाउँका ३७ वर्षीय बिरबल चौधरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार उनीहरुको साथबाट १ सय पत्ता नाइट्रोभेट ट्याब्लेट, १ सय एम्पुल डाइजेपाम, ९५ एम्पुल नुर्फिन र ९९ सय एम्पुल फेनार्गन बरामद भएको हो । त्यस्तै करिब ५ तोलाको चाँदीको ब्रासलेट, २ थान मोवाइल सेट र नेपाली १ सय र १ सय २० भारतीय रुपैयाँ पनि उनीहरुको साथबाट बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए ।
यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
शुक्रबार राति ९ बजे तिर वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकबाट वडा नम्बर १० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बीआर० वाई ८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कारबाट फेनारगन ८ सय ८६ एम्पुल, डाइजेपाम १ हजार १ सय ५५ एम्पुल र नुरफिन ९ सय ७८ एम्पुल गरी जम्मा ३ हजार १९ एम्पुल तथा नाईट्राभेट १ हजार ७ सय ८५ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । कार्कीका अनुसार पक्राउ परेका अनिललाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech