जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् । उनले भने–लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ । अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ ।
सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रबार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गरे ।
तपाईँहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हकअधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ, उनले भने, नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ ।
मधेसी जनताको चाहनाअनुरुप यहाँको शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उनले दाबी गरे । चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ, पूर्वप्रधानमन्त्री दाहालले भने, नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनतको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ ।
अध्यक्ष दाहालले संघीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले यहाँको जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आगामी चुनावमा मत दिनुपर्ने बताए । यसअघि उनले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको बताए । उनले गठबन्धनभित्र रहेको सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने बताए । जनता समाजवादी पार्टीबाट डा बाबुराम भट्टराईको समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी छ, अध्यक्ष प्रचण्डले भने, जसपाका दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ, उपेन्द्र यादवजीले नेतृत्व गरेको पार्टी गठनबन्धनमै छँदैछ, बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने उहाँहरुले भन्दै आएका छन् । त्यस कारण बाबुरामजीको समूह पनि हाम्रै गठबन्धनमा रहने मेरो विश्वास छ ।
गठबन्धनमा रहेका वामपन्थी पृष्ठभूमिका दलहरुबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले जनकपुरस्थित विमानस्थलमा संचारकर्मीहरु सित कुराकानी गर्दै भने,–हाम्रो छलफल चलिरहेको छ तर अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनौँ । सम्भवतः केही दिनभित्र एउटा निर्णयमा हामी पुग्छौँ, उनको भनाइ थियो । आफूहरूकै जोडबलमा नै नागरिकता विधेयक पारित भएको र नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले विधेयक पारित भएसँगै नागरिकता विवाद पनि समाधान भएको बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता प्रल्हाद बुढाथोकीलगायतले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचार–प्रसार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech