साविक विजेता नेदरल्यान्ड्सलाई हराउँदै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेदरल्यान्ड्सलाई १–० ले स्तब्ध पार्दै फ्रान्स पहिलोपटक महिला युरोको अन्तिम चारमा प्रवेश गरेको हो।
एससिल न्यूयोर्क स्टेडियम इंग्ल्यान्डमा शनिबार राति फ्रान्सलाई जिताउन इभ पेरिसेटले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।
१०२ औं मिनेटमा जान्सेनले पेनाल्टी बक्समा काडिडियाटोउ डिएनीलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा फ्रान्सलाई पेनाल्टी दिएका थिए।
अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। खेलमा बल पोजिसन राखे पनि फ्रान्सले केही गोल गर्ने राम्रा मौका गुमाउँदा अतिरिक्त समयमा धकेलिनु परेको थियो।
यस्तै डिफेन्डिङ च्याम्पियन नेदरल्याण्डका केही राम्रा प्रहारलाई फ्रान्सकी गोल रक्षकले विफल बनाएपछि क्यार्टरफाइनलमै रोकिनुपर्यो।
योसँगै महिला युरो च्याम्पियनसिप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ।
पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र स्वीडेनबीच मंगलबार राति प्रतिस्पर्धा हुनेछ। यस्तै फ्रान्सले फाइनल प्रवेशका लागि बुधबार जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल आइतबार हुनेछ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech