जनकपुरधाम । धनुषाको मुखियापपट्टी मुसहरनियाँ गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई जिन्सी(सामान) फिर्ता गर्नको लागि पालिकाले ताकेता गरेको छ ।

गाउँपालिका अध्यक्ष जयकुमार यादवले आइतबार एक विज्ञप्ति जारी गरेर निवर्तमान जनप्रतिनिधिहरुलाई लिएको सामान फिर्ता गरिदिनको लागि आग्रह गरेका हुन् । गाउँपालिकाको लेटरहेडमा चलानी नं. २२ रहेको पत्रमा विगतमा जनप्रतिनिधिहरुले बुझेर लगेका सामानहरु १५ दिनभित्र फिर्ता बुझाउन आग्रह गरेका हुन् । तोकिएको समयसीमामा सामान फिर्ता नगरेमा कानुन बमोजिम प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएका छन् । तत्कालीन गाउँपालिका अध्यक्ष मनोज यादवले बुझेको सामानहरु अहिलेसम्म फिर्ता गरेका छैनन् । कार्यालय श्रोतका अनुसार उनले मोबाइल, फर्निचर लगायतको सामान बुझेका छन् । नेकपा एमालेबाट २०७४ को स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा निर्वाचित मनोज अधिकांश समय विवादमै रहे । उनले कुनै आर्थिक वर्षमा गाउँपालिकाको बजेट समयमा ल्याएर खर्चिन सकेका थिएनन् । तर, सुविधा भने लिदै आएका थिए । उनीसँगै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित वडाध्यक्षहरुले समेत मोबाइल लगायतको सामानहरु फिर्ता नगरेको कार्यालय श्रोतले जनाए । कार्यालयको सामान फिर्ता नगरेमा उनीहरु विरुद्ध पनि कानूनी प्रक्रिया अघि बढाइने भएको छ ।

सम्बन्धित खवर