प्रादेशिक अस्पताल जनकपुर, बर्न वार्डको बेड नम्बर १३९ मा उपचाररत राधिका कार्कीका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेको छ। जाहेरीमा आरोपित व्यक्तिको फोन नम्बर र मोटरसाइकल नम्बर पनि छ तर प्रहरीले पक्राउ गर्न सकेको छैन। जाहेरी दिएको एक महिना भयो।
गत जेठ १६ गते प्रहरीले नै राधिकालाई अस्पताल भर्ना गराएको थियो। शरीरमा करेन्ट लगाइएकी र आइरनले पोलिएकी राधिका निको हुने क्रममा छिन्। घाउ ठिक हुँदै गएको छ। पोलेको ठाउँमा छाला पलाउँदै छ।
राधिका दोहोरो कुराकानी गर्न थालेकी छन् तर उनको मनको घाउमा मल्हम लाग्न सकेको छैन।
राधिकाले प्रहरीलाई दिएको घरठेगानमा प्रेमी भनिएको आरोपित व्यक्ति अरुण साह फेला नपरेको प्रहरीको भनाइ छ। राधिकाले प्रहरीलाई भनेअनुसार अरुणको घर धनुषाको महेन्द्रनगर हो।
राधिकालाई प्रहरीले आरोपित पक्राउ गर्ने र कारबाही अघि बढाउने आश्वासन दिएको छ।राधिका सिन्धुलीको गोलञ्जर गाउँपालिका-२ की हुन्। करिब आठ महिनाअघि राधिका र अरुण आफू खुसी सँगै बस्न थालेका थिए। कामका सिलसिलामा जोगन्ञ्जर पुगेका अरुण र राधिकाबीच चिनजान भएको थियो।
उनीहरूबीच प्रेम भयो। बिहे गर्छु भनेर अरुणले राधिकालाई जनकपुरधाम ल्याएर डेरामा राखे।
राधिकाका अनुसार अरुणले केही दिनपछि घर जाने भनेका थिए। दुई महिनाभन्दा बढी बित्दा पनि अरुणले घर जाने कुरा गरेनन्।
राधिकाले भनिन्, ‘मैले धेरै दिन भइसक्यो अब बिहे गरेर घर लैजानुस् भन्दा उन (अरुण) ले फेरि पुरानै कुरा दोहोर्याए। समय आएपछि लैजान्छु भने अनि झगडा पर्न थाले।’
एक दिन यसै कुरामा दुई जनाबीच विवाद भयो। विवाद बढ्दै जाँदा झगडा भयो। राधिकाले भनिन्, ‘उनले मलाई करेन्ट लगाए, आइनले पोलिदिए।’
राधिकाबारे समाचार आएपछि प्रहरीले घटना अनुसन्धानमा चासो देखाएको थियो। प्रहरीले जानकी मेडिकल कलेजमा कार्यरत दुई जनालाई नियन्त्रणमा पनि लिएको थियो। संलग्नता नदेखिएको ठहर गर्दै प्रहरीले उनीहरूलाई रिहा गर्यो।
राधिकाले भनेको घरठेगानामा अरुण नामको व्यक्ति फेला नपरेको कारण जनाउँदै प्रहरी घटना अनुसन्धानमा सुस्त देखिएको छ।
राधिकाका अनुसार उनको मोबाइल फोनमा अरुणसँग खिचेका फोटा थिए तर उनको फोन फेला परेको छैन। धनुषा प्रहरीका एसपी वसन्त रजौरेले अनुसन्धान जारी रहेको बताए।
‘राधिकालाई उद्धार गरेर प्रहरीले नै अस्पताल भर्ना गरेको हो। घटनामा गम्भीरतापूर्वक अनुसन्धान हुँदैछ दोषी उम्किन पाउँदैन, निर्दोष फस्दैन,’उनले भने।
‘बिचमा केही दिन बिदामा गएको थिएँ । अहिले जिरो लेवेल (शून्य) बाट सुक्ष्म अनुसन्धान भइरहेको छ। राधिकाको गाडी चढ्ने अवस्था थिएन, अब उनलाई लिएरै कहाँ कहाँ कोसँग बसेको भन्ने सबै डिटेल खोज्छौँ,’ डिएसपी क्षेत्रीले भने, अरुणको पनि खोजी गर्दैछौं।’
उनले अनुसन्धानपछि थप कुरा जानकारी गराउने बताए। हालसम्मको अनुसन्धानमा राधिकालाई करेन्ट लगाएको नभई बिजुलीको तारमा झट्का लागेर आफैँ करेट लागेको अनुसन्धानमा खटिएका प्रहरीको निष्कर्ष छ।
‘त्यो केटी (राधिका) छतमा बसेर फोनमा कोहीसँग कुरा थिई। त्यही बेला बिजुलीको तारमा छोइएर झट्का लागेछ। हामीले उसका छिमेकीहरुलाई सोधपुछ गर्दा त्यहीँ भन्छ,’ घटनाको अअनुसन्धानमा संलग्न एक प्रहरी निरीक्षकले भने।
राधिकाले भने अरुणले नै करेन्ट लगाइदिएको जिकिर गरेकी छन्।
उक्त घटनामा प्रहरीले गम्भीर हुन नसकेको धनुषामा एक प्रहरी अधिकृतले स्वीकार गरे। उनले भने, ‘मिडियामा (समाचार) आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। दुई जनालाई छोडेयता त्यो घटनामा चासो नै लिएन। मोबाइल नम्बर थाहा छँदैछ भने कल रेकर्डिंग झिकाउँदा हुन्थ्यो, भित्री कुरा के हो मलाई थाहा भएन।’
राधिकाका अनुसार जानकी मेडिकलमा काम गर्ने ‘बन्ठा’ नामले चिनिने एक युवकले उनको मोबाइल फोन अस्पतालबाटै लगेका थिए। बन्ठा र सोही मेडिकलमा काम गर्ने अजयकुमार मेस्तरलाई प्रहरीले पक्राउ गरेको थियो। संलग्नता पुष्टि हुन नसकेपछि उनीहरूलाई मुक्त गरेको प्रहरीको भनाइ छ।
राधिकाका अनुसार प्रेमी भनिएका अरुणले जनकपुरमा राम्रो काममा लगाइदिने र बिहे गरेर घर लैजाने भनेका थिए। अरुणले जागिर खोजिदिएनन्, घर पनि लगेनन्।
अरुणले काम नखोजिदिएपछि राधिकाले जानकी मेडिकल कलेज, समर हस्पिटल, सिटी पार्क होटेल र नमुना होटल लगायतमा सरसफाइको काम गरिन्। यसै क्रममा जनकपुरधाम उपमहानगरकै एक महिलामार्फत उनी पिडारीचोकस्थित एक होटलमा काम गर्न पुगिन्।
राधिकाका अनुसार होटलमा उनीमाथि यौन दुव्र्यवहार भयो। ती महिलाले किशोरी र युवतीहरूलाई देह व्यापारमा लगाउने गरेको राधिकाले थाहा पाइन्। ती महिला कहिलेकाहीँ होटलमा पुग्ने गरेको पनि राधिकाले बताइन्।
होटलका प्रबन्धकले आफ्नो होटलमा यौनधन्दा चल्ने गरेको भन्ने आरोप अस्वीकार गरे। केही दिनअघि उक्त होटलका प्रबन्धकलाई धनुषा प्रहरीले सचेत गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी अधिकृतले बताए।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech