वीरगञ्ज । पर्सा जिल्लामा ४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले बालकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १२ वर्षीय बालकसहित ४ जना रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल जनाए ।
गएको साउन ५ गते साँझ ७ बजेदेखि हराएको भन्दै बालिकाका हजुरबुवाले प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य शुरु गरेको प्रहरी निरीक्षक मल्लले बताए । छपकैयास्थित खाली जग्गामा बालिकाको शब फेला परेपछि अनुसन्धानको क्रममा बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा १२ वर्षीय बालकको संलग्नता खुलेको थियो । ती १२ वर्षीय बालकसँग सोधपुछ गर्ने क्रममा अन्य ३ जनाको पनि संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बालिकालाई सामूहिक रुपमा जबरजस्ती करणीपछि कर्तव्य गरी मारेको अनुसन्धानमा खुलेको हो ।
जबर्जस्ती करणी तथा हत्यामा संलग्न रहेको अभियोगमा १२ वर्षीय बालक, वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने १९ वर्षीय जफ्रुदीन, वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी सलमान खान र अन्दाजी १८ वर्षीय फैजुल्लाह अन्सारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मल्लले बताए ।
बालिकाको शव पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech