जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना लिमिटेड पुनः संचालन गर्ने तयारी रहेको बताएका छन् ।

मधेश प्रदेश सरकारको प्रशासनिक भवन समेत रहेको जचुकालीको मन्त्री बडूले बुधबार निरीक्षण गर्दै यस्तो बताए ।

उद्योगमन्त्री बडूले देश आयातमा निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेको कलकारखानालाई पुनः संचालनमा ल्याउने तयारी स्वरुप आफूले जचुकालीको निरीक्षण गरेको बताए ।

राष्ट्रिय उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य अनुरुप जचुकालिलाई समेत सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । जचुकालिका मेसिनहरुको उपयोग कसरी गर्न सकिन्छ, उनले भने– नेपाल सरकारले आफै चलाउने वा निजी क्षेत्रसँग सहकार्य गरेर चलाउने बारे छलफल गरेर ठोस निर्णय लिनेछ ।

जचुकालीलाई पुनः सञ्चालनमा ल्याउनका लागि प्रदेश सरकारका साथै यहाँका उद्योगी व्यवसायीहरुसँग समेत उनले छलफल गरेका छन् । मधेश सरकारले जचुकालि प्रशासनिक भवनको लागि मागेको विषयमा मन्त्री बडूले अहिले सरकारले यस विषयमा ठोस निर्णय नगरेकाले यसका विकल्पहरु खुला रहेको बताए । यद्यपी प्रदेश सरकार पनि देशको जिम्मेवार निकाय रहेकाले प्रदेश सरकारको विचारलाई पनि आफूहरुले महत्वका साथ लिने उनले बताए ।

मधेश प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवासँग जनकपुर चुरोट कारखानाको प्राङ्गणलाई प्रशासनिक भवनको रुपमा प्रयोग गर्न दिन माग गरेको केही दिन नबित्दै उद्योगमन्त्री बडूले कारखानाको निरीक्षण गरेका हुन् । मुख्यमन्त्री लालबाबु राउतसहितको टोली काठमाडौं पुगेर प्रधानमन्त्री देउवालाई जचुकालीको प्राङ्गण प्रशासनिक भवनको रुपमा प्रयोग गर्न दिन मागसहित स्थायी स्वामित्वका लागि ज्ञापनपत्र बुझाएका थिए ।

जनकपुरधाम आइपुगेका मन्त्री बडूले मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवसँग जचुकालीको वर्तमान अवस्था सम्बन्धमा केहीबेर कुराकानी गरी कारखानाको भवनका साथै त्यहाँका मेसिनहरुको निरीक्षण गरेका थिए ।

मन्त्री बडूले नेपालको आर्थिक विकासमा जनकपुर चुरोट कारखानाको योगदान महत्वपूर्ण रहेकाले यो कारखाना सञ्चालन हुनु देशहीतमा हुने बताए ।

उनले कारखानाको मेसिन तथा अन्य संरचनाहरू राम्रो अवस्थामा रहेकाले सके सरकारले नभए निजी क्षेत्रसँग सहकार्य गरेर कारखाना चलाए मुलुकको व्यापार घाटामा केही मात्रामा भएपनि कमी ल्याउन सकिने बताए ।

बढ्दो व्यापार घाटा कम गर्नका लागि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको कारखानाहरु पुनः संचालनमा ल्याउनुपर्ने तर्क उनको थियो ।

यसका लागि सरकारले चालु आर्थिक वर्षको विशेष कार्यक्रम ल्याएको उनले जनाए ।

नेपालकै ठूलो कारखाना मध्ये एक जनकपुर चुरोट कारखानाको मेसिन भएको क्षेत्र तथा गोदामहरू अहिले नेपाल सरकारको उद्योग मन्त्रालयको अधीनमा रहेको बताउँदै मन्त्री बडूले कारखानाको निरीक्षणपछि सञ्चालनको विषयमा योजना बनाउने बताए ।

मन्त्री बडूले कारखाना ठूलो भएको र यसको क्षेत्रफल पनि व्यापक भएकाले उद्योग सञ्चालन गर्दा नै मुलुकको व्यापार घाटा कम गर्न तथा रोजगारी सृजना गर्नमा मद्दत पुग्ने बताए । बुधबार नै मन्त्री बडूले जनकपुरका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा जचुकालि संचालन गर्ने विषयमा छलफल गरेका थिए । सो अवसरमा जउवा संघका पदाधिकारी र व्यापारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर