जनकपुरधाम । वर्षको ११ महिना बजारमा विरलै भेट्ने सरकारी टोली अहिले दैनिक रुपमा अनुगमन गरेको पाइन्छ । असार मसान्तपछि सुरु भएको नयाँ आर्थिक वर्षको पहिलो महिना साउन सरकारी कर्मचारीहरुको लागि फुर्सदिला मानिन्छ । सरकारी कार्यालयको आर्थिक गतिविधि साउन महिनामा शुन्य हुन्छ । गत आर्थिक वर्षको आलेप(आन्तरिक लेखा परीक्षण) को प्रतिवेदन नआएसम्म नयाँ आर्थिक वर्षको आर्थिक कारोबार सुरु गर्न पाइदैन् । साउन महिनामा कार्यालयका लेखा फाँटले आर्थिक व्यवस्थापन गरेर नयाँ आर्थिक वर्षको लागि खाता संचालनमा जुटिरहदा अन्य कर्मचारी भने फुर्सदिला हुने गरेका छन् । उनीहरुले समयको समुदपयोग गर्दै कार्यालय बाहिर अनुगमन गरेर भत्ता पकाउनेदेखि व्यापारी तर्साउने सम्मको कार्य गर्न भ्याएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले दिनैपिच्छे विभिन्न सरकारी निकायले बजार अनुगमन गरेको पाइएको छ । बजार अनुगमनको क्रममा अवैध रुपमा कारोबार गर्दै आएका व्यापारीहरुमा भागाभाग हुने गरेको छ ।

बुधबार जनकपुरको औषधी व्यवसायीहरुमा भागाभाग भयो ।

जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि औषधि व्यवसायीहरुको भागाभाग भएको थियो । बुधबार बिहान १० बजेदेखि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जको टोलीले नियमित अनुगमन थालेपछि दर्ता बिना सञ्चालनमा रहेका औषधि पसल सञ्चालकको भागाभाग भएको हो ।

जनकपुरमा वर्षौंदेखि आधा भन्दा बढी औषधि पसल दर्ता बिना अवैध रुपले सञ्चालनमा रहेका छन् । त्यस्ता थुप्रै औषधि पसल सञ्चालकले अनुगमनको बेला बन्द गरेर भाग्ने गरेका छन् ।

अनुगमन सुरु भएपछि थुप्रै औषधि व्यवसायी पसल बन्द गरेर फरार भएका हुन् ।

अनुगमनको क्रममा विभागले बिना दर्ता सञ्चालनमा रहेका तीनवटा औषधि पसलमा सिलबन्दी गरेको छ ।

विभागका वीरगञ्ज फार्मेसी अधिकृत सर्फराज अहमद खानका अनुसार हस्पिटल रोडमा सञ्चालित पूर्वी क्लिनिक भित्र रहेको औषधि पसल, त्यही क्लिनिक छेउमै सञ्चालित अर्को औषधि पसल र जनकपुर प्रादेशिक अस्पताल अगाडि अर्थोपेडिक ट्रामा क्लिनिक भित्र सञ्चालित औषधि पसल सिल गरिएको हो ।

तीनवटै औषधि पसल दर्ता नगरी अवैध रुपमा सञ्चालनमा रहेकाले शिल गरिएको अधिकृत खानले बताए ।

जनकपुरमा वर्षौंदेखि सञ्चालित अवैध औषधि पसल अनुगमनका बेला बन्द हुने र अन्य दिनमा खुलेआम सञ्चालनमा रहेपनि सम्बन्धित निकाय मुकदर्शक बन्ने गरेको छ । यसअघि जनकपुरस्थित गुणस्तर तथा नापतौल कार्यालयले लगातार केही दिनदेखि बजार अनुगमन गरेको छ ।

सम्बन्धित खवर