हरिवन । सर्लाहीको हरिवनमा बजार राख्ने विषयमा विवाद चर्किदा बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन भएको छ ।
हरिवन नगरपालिका–११ को वडा कार्यालय अगाडि माटो हुरेको स्थानमा बजार राख्ने वा नराख्ने भन्ने विषयमा विवाद बढ्दा एक पक्षले राजमार्गमा आई प्रदर्शन गरेको हो । राजमार्गमा टायर बालेर प्रदर्शन गर्दा दिउँसो केहीबेर सवारी आवागमन नै प्रभावित भएको थियो । प्रहरीले सम्झाइबुझाइ गरी प्रदर्शनकारीलाई राजमार्गबाट हटाएर गाडी खुलाएको छ ।
यसअघि तरकारी बजार बस्दै आएको र अहिले माटो हुरेर सम्याइएको स्थानमा अब फेरि तरकारी किनबेच गर्न दिने वा नदिने भन्ने विषयमा विवाद चल्दै आएको छ । बजारको यो विवादमा राजनीति घुसाइँदा समस्या बढ्दै गएको स्थानीयहरु बताउँछन् ।
बुधबार बिहान वडा कार्यालयमा भएको छलफल बिथोलिएपछि एक समूहले राजमार्गमा आएर प्रदर्शन गरेको हो । सर्लाही मधेश प्रदेशमा सबैभन्दा बढी तरकारी उत्पादन गर्ने जिल्ला हो । तर, बजार व्यवस्थापन नहुँदा किसानलाई कौडीको भाउमा तरकारी व्यापारीलाई विक्रि गर्नुपरेको छ । बजार व्यवस्थापनमा सरकारी निकाय गंभिर नहुँदा विक्रि गर्ने स्थानको लागि किसानहरु बीच विवाद हुने गरेको हो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech