गौर । अनुदानको मल रौतहटका सहकारी संस्थाहरुले व्यापारीलाई विक्रि गरेको पाइएको छ । किसानको लागि आएको मल सहकारी संस्थाहरुले व्यापारीलाई बेच्ने गरेको पाइएको हो ।
अनुदानको मल निजी पसललाई बेचेको भन्दै जिल्लाको वृन्दावन नगरपालिका वडा नं–७ का जय शिव शंकर उपभोक्ता सहकारी संस्थामा स्थानीय किसानहरुले तालाबन्दी गरेका छन् ।
किसानलाई मल अभाव भएका बेलामा सो संस्थाले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गौरबाट पटक–पटक आएको डिएपी र युरिया मल व्यापारीलाई बेचेको भन्दै वृन्दावन ८ का स्थानीय किसानहरुले विरोध जनाउँदै ताला लगाएको स्थानीय युवा सलामोद्दिन दर्जीले जानकारी दिए ।
जय शिव शंकर उपभोक्ता सहकारी संस्था लिमिटेडका सञ्चालक उपेन्द्र प्रसाद यादवले सहकारीको नाममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गौरबाट तीन पटक अनुदानको मल ल्याएर व्यापारीलाई बेचेको स्थानीयको आरोप छ ।
यादवले पहिलो पटकमा १५८ बोरा, दोस्रो पटक १५० र तेस्रो पटक १३० बोरा युरिया र डिएपी मल किसानलाई नदिएर सोभैm व्यापारीलाई बेचेको स्थानीय युवा नेता राजेश पासवानले दावी गरे ।
यादवले प्रतिबोरा ७९० रुपैयाँ पर्ने युरिया मल विभिन्न निजी पसलेसँग १३५० रुपैयाँ र २२४० रुपैयाँ पर्ने ३ हजारमा बेच्ने गरेको स्थानीयको गुनासो छ । किसान मल किन्न जाँदा मल सकिएको र ल्याएपछि दिने भन्दै फर्काउने गरिएको थियो ।
वृन्दावन नगरपालिकामा दर्ता रहेको सो सहकारी नियम विपरित गरुडा नगरपालिका वडा नं–८ विर्ता चोकमा सञ्चालनमा रहेको छ । वृन्दावन नगरपालिकाले जय शिव शंकर उपभोक्ता सहकारी संस्था लिमिटेडलाई वडा नं ८ का किसानहरुलाई मल वितरण गर्ने सर्तमा सो संस्थालाई मल उपलब्ध गराइदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडलाई सिफारिस गरेका हुन् ।
सो संस्थाका सञ्चालक उपेन्द्र प्रसाद यादव (उपी)ले गत जेठ १८ गते कृषि समाग्री कम्पनी लिमिटेड चन्द्रनिगाहापुरबाट ९५ बोरा युरिया र ५ बोरा पोटास खाद्य मल लगेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख रवि कुमार केशरीले जनाएका छन् ।
यादवले सो मल पनि निजी पसलेलाई बेचेको स्थानीयले आरोप लगाएका छन्। मंगलबार स्थानीयले विरोध जनाउँदै सो संस्थामा तालाबन्दी गरी स्थानीय प्रहरी चौकी विर्तामा उजुरी समेत दिएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech