काठमाण्डौ । राष्ट्रियसभाको बिहीबारको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा छलफल भएको थियो । सदनमा सांसदबाट उठेको प्रश्नको गृहमन्त्री खाणले जवाफ दिएका थिए ।

उक्त विधेयकमाथिको संशोधन प्रस्ताव राख्ने संयुक्त संशोधनकर्ताका तर्फबाट डा बेदुराम भुसाल र गोपीबहादुर अछामीले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । सांसदहरु खीमलाल देवकोटा, देवेन्द्र दाहाल, विमला राई पौडेल, तुलप्रसाद विश्वकर्मा र भगवती न्यौपानेले राखेको संशोधन प्रस्ताव सभाको बहुमतले अस्वीकृत भएको थियो । यसअघि प्रतिनिधिसभाले यो विधेयक साउन ६ गते बहुमतले पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ ।

यो विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् । त्यस्तै बाबुको पहिचान हुन नसकेकाहरुले आमाको नामबाट पनि नागरिकता लिन पाउने भएका छन् ।

सम्बन्धित खवर