जनकपुरधाम । मधेश प्रदेशमा अवैध वित्तिय (हुण्डी) कारोबार मौलाउँदै गएको छ । सीमासित जोडिएको प्रदेशका आठै जिल्लामा दैनिक करोडौको हुण्डी कारोबार हुने गरेको छ । राजधानी जनकपुरमै दैनिक लाखौको हुण्डी कारोबार हुने गरेको श्रोतको दावी छ । धनुषापछि सबैभन्दा बढी हुण्डी कारोबार हुने रौतहट जिल्ला हो । मधेश प्रदेशका आठै जिल्ला भारतीय सीमासित टाँसिएकोले हुण्डी कारोबार फस्टाउँदै गएको एक जना व्यापारीले बताए ।

ती व्यापारीका अनुसार नेपाली रुपैयाँ यहाँ जम्मा गर्दा भारतमा भारतीय रुपैयाँ सम्बन्धित व्यक्तिलाई भुक्तानी गरिएको छ । भारतमा कालो धनमा कडा निगरानी हुँदा हुण्डीमार्पmत रुपैयाँ नेपाल ल्याउने गरिएको हो । बैंकमार्पmत कारोबार गर्दा पक्राउ पर्ने जोखिम रहेकोले नगद ओसार पसार गर्ने हुण्डी भरपर्दो माध्यम बनेको हो । हुण्डीको कारोबार फस्टाउँदै गएपछि प्रहरीले ठूलो मात्रामा नगद बरामद गर्न थालेका छन् । गत आर्थिक वर्षमा नेपाल सशस्त्र प्रहरीले करिब ६ करोड नेपाली र भारतीय रुपैयाँ बरामद गरेको हो । हुण्डीको रुपैँया र यसमा संलग्न भरियाहरु भटाभट पक्राउ पर्न थालेको छ । श्रोत नखुलेको रुपैयाँ बरामद गर्न नेपाल भन्दा सशस्त्र प्रहरी अगाडि छ । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७८।०७९ मा सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश छिन्नमस्ता बाहिनी बर्दिवासले स्रोत नखुलेको ३ करोड २० लाख ३६ हजार ७२० रुपैयाँ बरामद गरेको हो भने स्रोत नखुलेको १७ लाख ६१ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको मधेश प्रदेश मुख्यालय छिन्नमस्ताका बाहिनीपति ससस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।

स्रोत नखुलेको नेपाली रुपैयाँ सबैभन्दा धेरै धनुषाबाट बरामद भएको उनले बताए । नम्बर ८ गण हेडक्वाटर धनुषाले गएको आर्थिक वर्षमा स्रोत नखुलेको नेपाली रुपैयाँ ९७ लाख ४ हजार ५ सय र भारतीय रुपैयाँ चार लाख बरामद गरेको हो ।

यस्तै ५८ लाख आठ हजार रुपैयाँ नम्बर ११ गण हेडक्वाटर रौतहट बरामद गरेको छ । बाहिनीकै सक्रियतामा विभिन्न ठाउँबाट ४९ लाख ५१ हजार, नम्बर ९ गण हेडक्वाटर महोत्तरीले ४४ लाख २४ हजार ५६०, नम्बर १० गण हेडक्वाटर सर्लाहीले २३ लाख ८३ हजार ८० स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद गरेको हो ।

यसैगरी नम्बर ७ गण हेडक्वाटर सिरहाले १४ लाख २८ हजार ७०, नम्बर १३ गण हेडक्वाटर पर्साले १२ लाख र नम्बर १२ गण हेडक्वाटर बाराले ६४ हजार स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद गरेको नायव महानिरीक्षक ठाडामगरले जानकारी दिए ।

जसमध्ये नम्बर १३ गण हेडक्वाटर पर्साले ६ लाख भारतीय रुपैयाँ पनि बरामद गरेको छ । धनुषा र महोत्तरीले समान ४÷४ लाख स्रोत खुल्न नसकेको भारतीय रुपैयाँ बरामद गर्दा बाराले ३ लाख र सर्लाहीले ४९ हजार रुपैयाँ बरामद गरेको पनि उनले जानकारी दिए ।

 

 

नेपाल–भारत सीमामा तस्करहरु सक्रिय भएपछि निगरानी बढाइएको डिआईजी ठाडामगरले बताए ।

प्रदेशका ८ वटै जिल्लाका प्रमुखहरुलाई रणनीतिक परिचालनका लागि तस्कर बिरुद्ध उभिन निर्देशन दिएको डिआईजी ठाडामगरले बताए ।

अघिल्लो समय दैनिक जसो तस्कर र तस्करीका सामान, लागूऔषध तथा अबैध हुण्डी कारोबारीहरु सशस्त्र प्रहरीको नियन्त्रणमा आउन थालेको छ ।

यस्तै, नेपाल प्रहरीले प्रदेशका आठै जिल्लाबाट आर्थिक वर्ष २०७८÷७९ मा स्रोत नखुलेको २ करोड ५४ लाख ४९ हजार ५०० रुपैयाँ बरामद गरेको छ ।

प्रदेशको आठवटै जिल्लाको विभिन्न स्थानबाट प्रदेश प्रहरी कार्यालय जनकपुरधामले स्रोत नखुलेको नेपाली रुपैयाँ २ करोड १८ लाख ६५ हजार ८२० र भारतीय रुपैयाँ २२ लाख ३९ हजार ८०० (नेपाली ३५ लाख ८३ हजार ६८० ) बरामद गरेको हो ।

एक वर्षमा विभिन्न १४ वटा अवैध वित्तीय कारोवार(हुण्डी)बाट उक्त स्रोत नखुलेको रुपैयाँ बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

बारामा १ र पर्सामा १३ गरी कूल १४ वटा अवैध वित्तीय कारोवारको घटनामा संलग्न रहेको भन्दै २३ जनामाथि मुद्दासमेत दर्ता गरिएको उनले बताए ।

नेपाल र भारतको सीमा क्षेत्रमा हुण्डीमार्फत कारोबार हुने गरेकाले स्रोत नखुलेका रुपैयाँ बरामद हुने गरेको प्रवक्ता कार्कीको भनाइ छ । व्यापारीहरुले सुरक्षाघेरा छल्न विभिन्न तरिका अपनाएर यस्ता रकम ओसारपसार गर्दै आएका छन् ।

सम्बन्धित खवर