पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

उसका लागि शम्राह ब्रुक्सले सर्वाधिक २० रन बनाए। यस्तै किमो पाउल १९ रनमा अभिजित रहँदा ओपनर काइल मेयर्स १५, जेसन होल्डर शून्य, निकोलस पुरन १८, रोभम्यान पावेल र शिम्रन हेटमायर समान १४-१४ रनमा आउट भए।

भारतका रविचन्द्रन आश्विन, रवि विश्रोई र अर्शदीप सिंहले समान २-२ विकेट लिए। यस्तै रविन्द्र जडेजा र भुवनेश्वर कुमारको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो। उसका लागि रोहित शर्माले सर्वाधिक ६४ रन बनाए।

यस्तै दीनेश कार्तिकले बिस्फोटक ब्याटिङ गर्दै १९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे।  सूर्यकुमार यादव २४ रनमा आउट हुँदा श्रेयस ऐर शून्यमा आउट भए। यस्तै ऋषभ पन्त १४, हार्दिक पान्ड्या १ र रविन्द्र जडेजा १६ रनमा आउट भए। रविचन्द्र आश्विन १३ रनमा अविजित रहे।

वेस्टइन्डिजका अल्जारी जोशेफले सर्वाधिक २ विकेट लिए। यस्तै ओबेद म्याकोय, अकिल हुसैन, जेसन होल्डर र किमो पउलले एक एक विकेट लिए।

यो जितसँगै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो खेल सोमबार हुनेछ।

सम्बन्धित खवर