जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) धनुषाले विभिन्न माग गर्दै शनिबार प्रदर्शन गरेको छ ।

धनुषाको ढल्केवरमा राप्रपाका नेता र कार्यकर्ताहरुले नागरिकता विधेयक र एमसीसी खारेजीलगायत माग माग गर्दै प्रदर्शन गरेका हुन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनुपरेको राप्रपा मिथिला नगरपालिकाका अध्यक्ष मदन बहादुर मोक्तानले जानकारी दिए ।

 

प्रदर्शनका सहभागीले ‘हिन्दू राष्ट्र कायम गर, राजसंस्था कायम गर, मलखाद उपलब्ध गर, महँगी नियन्त्रण गर’जस्ता नारा लगाउँदै ढल्केबर चोकको परिक्रमा गर्दै कृषि बजारमा कोणसभा गरेका थिए ।

कोणसभामा पार्टीका अधिकांश अगुवा कार्यकर्ताहरुले हिन्दू राज्य कायम हुनुपर्ने, राजसंस्था पुर्नवहाली गर्नुपर्ने, महँगी, अपराध र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने माग गरे । कोणसभामा बोल्दै अध्यक्ष मोक्तानले नागरिकता विधेयक खारेज नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।

विरोध प्रदर्शनमा पार्टीका जिल्ला सदस्य वीरेन्द्र महतो, रामशरण मुखिया, नथुनी ठाकुर, क्षेत्रीय सदस्य बेचन महतोलगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

राप्रपाले यसअघि असार १ गते महँगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजीलगायत माग राखेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।

 

सम्बन्धित खवर