जनकपुरधाम । लामो समयदेखि चर्को गर्मीले आजित जनकपुरबासीले शनिबार साँझ शितल महशुस गरेका छन् । शनिबार साँझ जनकपुर वर्षा भएपछि नगरबासीले शितल महशुस गरेका छन् । करिब तीन सातादेखि वर्षाको व्यग्र प्रतीक्षामा रहेका नगरबासीको चाहना भने शनिबार पूरा भएको हो । थेग्नै नसक्ने बनेको गर्मीबाट तत्कालका लागि राहत हुने भएको छ । पानी नपर्दा धान रोपाइ हुन नसकेको धनुषामा शनिबार साँझको वर्षाले थोरै भएपनि राहत हुने छ । रोपाई भइसकेको धानको लागि वरदान साबित भएको छ । तर, शनिबारको वर्षा पर्याप्त नरहेको किसानहरुले बताए ।

यता, शनिबार शनिबार साँझ ५ बजेदेखि परेको अविरल वर्षाका कारण वीरगञ्जको मुख्य बजार क्षेत्र डुबानमा परेको छ ।

वीरगञ्ज महानगरपालिकाको आदर्शनगर, मुर्ली चोक, जेलरोड, गणेशमान चोक, रानीघाट, पानीटंकी, भिषुवा, लक्ष्मणवा, छपकैया, श्रीपुर लगायतका क्षेत्रमा पानी जमेको कारण सडक तथा आसपासका सयौँ घरमा पानी पसेपछि जनजीवन प्रभावित भएको छ ।

विशेष गरी वीरगञ्जको कलैस चोक अगाडी तथा मुर्ली चोकका पसलमा पानी पसेपछि सामानहरू डुबेको र लाखौँको क्षति भएको व्यवसायीहरूले बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाले नालाको सरसफाइ गरे पनि अझ तीव्र गतिमा काम हुन नसक्दा फोहोरको कारण नाला बन्द भएको र वर्षाको फोहोर पानी निकास हुन नसक्दा नगरको अधिकांश क्षेत्र डुबानमा परेको नगरवासीको गुनासो छ ।

वीरगन्ज महानगरपालिकाको लापरबाहीका कारण ढल नलको फोहोर तथा वर्षाको पानी घरभित्र पसेपछि आफूहरू प्रभावित भएको वीरगञ्ज १६ रेल्वेरोड निवासी लालाबाबु सिंहले बताउनुभयो ।

लामो समयको पर्खाइपछि वर्षा भएका कारण किसानहरू भने हर्षित भएका छन् । प्रचण्ड गर्मी र धूपले आहत भएका तराईका बासिन्दालाई आज साँझ परेको पानीले राहत भएको छ ।

सम्बन्धित खवर