लालबन्दी । सर्लाही सदरमुकाम मलङ्गवामा आईतबार बसबाट ओर्लिने क्रममा लडेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकाको सुदामा गाउँबाट सदरमुकाम मलंगवा आएको ग १ ख ९४५२ नम्वरको बसबाट लडेर कौडेना गाउँपालिका–३, बस्ने ३५ वर्षीय चन्दन चौधरीको मृत्यु भएको हो । सदरमुकाम मलंगवा नगरपालिका–२, स्थित बसपार्कमा बसबाट ओर्लिने क्रममा चौधरीले लगाएको सर्ट ढोकामा अल्झिँदा उनी लडेर गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि बस प्रहरी नियन्त्रणमा छ भने त्यसका चालक फरार भएका छन् ।
यसैबीच, सोही बस सुदामाबाट मलंगवातर्फ आउने क्रममा बसभित्र यात्रा गरिरहेकी एक वृद्धा सिटको डण्डीमा ठोक्किएर गम्भीर घाइते भएकी छन् । बस कौडेना गाउँपालिका–२, स्थित लखन्देही पुल नजिक आइपुग्दा खाल्डोमा परेर बस हल्लिँदा बसमा सवार गोडैता नगरपालिका–६, बस्ने ६५ वर्षीया ईश्वरवती देवी घाइते भएकी हुन् ।
सिटको फलामे डण्डीमा ठोक्किँदा उनको बायाँ कुमको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते ईश्वरवती देवीको प्रादेशिक अस्पताल मलंगवामै उपचार चलिरहेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech