जनकपुरधाम । मिथिलाञ्चलमा आइतबारदेखि झुल्नोत्सव सुरु भएको छ । प्रत्येक वर्ष साउन शुक्ल तृतियादेखि मनाइने झुलनोत्सव पर्वको रमझम सुरु भएको छ । आइतबार साँझदेखि जानकी मन्दिरमा झुल्नोत्सव गरिएको छ ।

झुलनोत्सव पर्व मिथिलाञ्चल क्षेत्रका भारतको विहार राज्यको तिरहुत क्षेत्र, जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहट, सप्तरी, पर्सा, बारा जिल्लाको विभिन्न मठ मन्दिरमा एक महिनासम्म बडो धुमधामका साथ मनाइने धार्मिक परम्परा रहेको छ ।

झुलनोत्सवको अवसरमा प्रत्येक मठ मन्दिरमा मणिपर्वत पर्व हर्षोल्लासका साथ सम्पन्न गरिन्छ । सो पर्व सुरु हुनुभन्दा अगाडि मठ मन्दिरबाट लावालस्कर बाजागाजा तथा मंगलगानका साथ भव्य जुलुस निकाली पर्वको सुरुवात गर्ने गरिन्छ । मणिपर्वत पर्व भगवान् राम र सीताको शुभविवाहकै पालादेखि मनाइँदै आएको छ ।

झुला उत्सवको पहिलो दिनलाई मणिपर्वतको झुला भनिन्छ । उक्त दिन अपरान्ह जनकपुरका ५२ कुटीबाट डोलामा रामसीताका मूर्ति राखि रंगभूमिमा ल्याइएपछि जानकी मन्दिरका महन्तद्धारा उत्सवको शुरुवात गरिन्छ । मणिपर्वत झुला उत्सवका दिन जानकी मन्दिर, राममन्दिर र लक्ष्मण मन्दिरका मूर्तिलाई एकै ठाउँमा राखि झुलाउने गरिन्छ ।

जनश्रुति अनुसार, सीताको माईतीमा दाईजोका रुपमा प्राप्त मणिहरु महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृति स्वरुप झुला उत्सवको प्रारम्भमा रंगभूमिमा पनि मणिपर्वत मनाउने परम्परा रहेको छ ।

त्रेतायुगमा भगवान् राम र सीताको शुभ विवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले आयोध्यावासीलाई उपहारस्वरुप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रंगभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार यो पर्व प्राचीन समयदेखि आएको जनविश्वास छ ।

सम्पूर्ण मिथिलाञ्चलमा साउन शुक्ल पक्षभरि हरेक मठ मन्दिरमा झुलन लोकोत्सव सोल्लास मनाइने परम्परा सदियौँ पुरानो छ । जनकपुरको जानकी मन्दिर, राम मन्दिर, दशरथ मन्दिर र मटिहानीको लक्ष्मीनारायण मठमा यस लोकोत्सवको मुख्य आकर्षण केन्द्रको रुपमा मिथिलाञ्चलमा प्रसिद्ध छ । झुला उत्सव पूर्णिमाको पूर्व सन्ध्यामा सम्पन्न हुने छ ।

सम्बन्धित खवर