जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) जनकपुरधामले करारको कर्मचारीलाई पुर्नबहाली लगायतको ११ बुंदे माग गर्दै सोमबार उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई ज्ञापनपत्र बुझाएका छन् । पाँच दलीय गठबन्धनमा रहेको जसपाले कांग्रेसका मेयरलाई सो ज्ञापनपत्र बुझाएको हो । मेयर साहले अघोषित रुपमा कांग्रेस प्रवेश गरिसकेका छन् । स्थानीय चुनावमा गठबन्धनमा सिट वाँडफाँट गर्दा मेयर जसपा र उपमेयर कांग्रेसले पाएको थियो । तर, कांग्रेसीले जसपाका उम्मेदवारलाई मत नहालेर बागी भएका मनोज साहलाई मतदान गरेका थिए । मेयर बागी जितेपनि उपमेयरमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरु जनताको अपेक्षा अनुरुप काम नगरेको भन्दै जनकपुरधाम नगर समितिका अध्यक्ष बिष्णुदेव साहको नेतृत्वमा गएको पार्टीका नेता कार्यकर्ताहरुले मेयर साहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा नयाँ नेतृत्वको चयन पछि जनताले गरेको अग्रगामी विकास, सुशासन तथा व्यवस्थापनको अपेक्षामा कुठाराघात भएको ठहर गरिएको छ । चुनाव ताका लगाईएको नारा एवं जनता समक्ष गरिएको प्रतिवद्धता पुरा गर्नुको साटो नगर नेतृत्वकै गैर जिम्मेवारीपनले नगरवासी थप पीडित हुँदै गएको जसपाको आरोप छ ।

जनकपुरधाम उपमहानगरपालिकाको अतिआवश्यक समस्याहरुको सम्बोधन अझै हुन नसक्दा जनकपुरधाम आउने धार्मिक पर्यटकलाई सास्ती व्यहोर्नु परेको जसपाको आरोप छ । यी समस्याहरुको समाधान अत्यावश्यक हुँदा ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको र प्रस्तुत मांगहरु समयमै सम्बोधन नभए जसपा नगर समिति चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।

ज्ञापन पत्र बुझदै मेयर साहले मांगहरु मध्ये अधिकांश मांग सम्बोधनको क्रममा रहेको र फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन सहितको कामहरु गर्न आफुहरु सक्रिय रहेको उनले जवाफ दिएका छन् । मेयर साहले उपमहानगरपालिकाले प्राथमिकताका साथ गर्न लागेको कामहरुको विषयमा पनि प्रकाश पारेका थिए ।

फोहरमैलाको उचित व्यवस्थापन हुनु पर्ने, कर्मचारी व्यवस्थापनमा भइरहेको भेदभावको अन्त्य हुनु पर्ने, कार्यरत कर्मचारीहरुलाई विना भेदभाव निरन्तरता दिनुपर्ने, वर्षौ देखि कार्यरत कर्मचारीलाई अवैधानिक तरिकाले हटाएको कर्मचारीलाई अबिलम्व पुर्नबहाली गर्नुपर्ने, छाडा गाई बस्तुको उचित व्यवस्थापन हुनु पर्ने, उपमहानगरको विकासे योजनाहरु लगायत अन्य सबै कार्यहरु अनलाइन मार्फत सार्वजनिक हुनु पर्ने, कृषि तथा कृषकहरुको लागि दीर्घकालीन योजना ल्याउनु पर्ने, सुकम्वासीहरुको अविलम्ब उचित व्यवस्थापन गर्नु पर्ने, फुटफाट व्यवसायीलाई उचित व्यवस्थापन गरी मात्र स्थापनातरण गर्नु पर्ने, किसानलाई समयमा मल उपलब्ध गराउनुपर्ने, ग्रामीण विद्युतीकरण कृषि सिंचाई विद्युतीकरण गर्नु पर्ने र संस्कृतिक नगरको दिशामा अगाडि बढिसकेको अवस्थामा केशरिया रंग एवम् स्थानिय (जनकपुरधाम गान) ले निरन्तरता पाउनुपर्ने माग जसपाले अघि सारेको छ ।

सम्बन्धित खवर