मलगंवा । सर्लाहीको हरिपूर्वामा एक युवकको विभत्स ढंगले हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको छ ।

जिल्लाको दक्षिण पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षीय सुशील कुमार यादवको हत्या भएको हो । सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको शौचालय निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ ।

धारिलो हतियारले घाँटी रेटिएको र छिनो (फलामको रडलाई तिखो पारेर बनाइएको हतियार) ले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले बताए । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए ।

सुशील गएको शुक्रबारदेखि नै घरबाट बेपत्ता भएपनि परिवारले प्रहरीमा भने खबर गरेको थिएन । परिवारले सुशील पुनः कामका लागि भारत नै गएको होला भनी प्रहरीमा सूचना नगरी बसेको तर सोमबार बिहान शव फेला परेपछि मात्रै सुशील चार दिन अघिदेखि नै बेपत्ता रहेको खुल्न आएको डीएसपी यादवले सुनाए ।

उनका अनुसार मृतकको शव कीराले खान थालिसकेको अवस्थामा बरामद भएको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

सम्बन्धित खवर