जनकपुरधाम । मधेश प्रदेश सरकारले जनकपुरधाममा संचालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गरेको छ । सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले उद्योग विभाग स्थापना गर्ने भएपछि उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको औचित्य नबुझेर खारेज गरेको श्रोतले बताए । सोमबारकै मन्त्रिपरिषद्को बैठकले वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । निर्देशनालयले गर्दै आएको कार्य अव भने विभागले गर्ने छन् । विभागको स्थापना भएपछि निर्देशनालयको औचित्य नरह्ने प्रदेश सरकारको ठम्याई छ । बैठकले जनकपुरधाम, सिरहाको लहान र पर्साको वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको हो ।
चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने सरकारले जनाएको थियो । सोही अनुरुप मधेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech