गौर । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष नेपालले रौतहटमा विकासको सुनामी ल्याएर देशमै विकसित जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सदरमुकाम गौर नगरपालिकामा निर्माण हुने सभाहल, विवाह मण्डप, कालो पत्रे सडक सहितका परियोजनाहरुको सोमबार शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ऐतिहासिक जिल्लाको रुपमा रहेको रौतहटको समग्र विकासमा लागिपरेको बताए ।
रौतहट जिल्लाको समग्र विकास गरेर यहाँको जनतालाई सुखी एवं समृद्ध बनाउने उनले थपे ।
भासन र प्रतिबद्धता हैन्, उनले भने– यहाँको जनता विकास चाहेको छ । रौतहटमा योजनाबद्ध ढंगबाट दीर्घकालीन रुपमा विकासको लहर ल्याउन माष्टरप्लान(गुरुयोजना) सहित योजनाहरुको शिलान्यास गरेर निर्धारित समयमै पूरा गराउने तर्पm सक्रिय रहेको उनले प्रष्टयाए । शहरी विकास मन्त्रालयद्वारा विनियोजित ४० करोड भन्दा बढिको योजनाहरुको एकै दिन अध्यक्ष नेपालले शिलान्यास गरेका हुन् ।
स्वास्थ्य क्षेत्रलाई सब्बल बनाई गुणस्तरीय चिकित्सा व्यवस्थापन र गुणस्तरीय शैक्षिक सुधारको योजनाहरु चाँडै संचालनमा ल्याउने प्रतिबद्धता समेत उनले जनाए ।
शहरी विकास मन्त्रालयद्वारा विनियोजन गरिएको बजेटबाट गौर नगरपालिका–२ मा करिव २० करोडको लागतमा ३०० क्षमताको सभा हल (टाउन हल), वडा नम्वर ४ कविर चोकमा विवाह भवन, टिकुलिया र सिर्सिया निर्माण हुने कालोपत्रे सडकको समेत अध्यक्ष नेपाल र शहरी विकास मन्त्री मेटमणी चौधरीलेसंयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
शहरी विकास मन्त्री मेटमणी चौधरीले विकासबाट टाढा रहेका जिल्लाहरुमा प्राथमिकताको साथ योजनाहरुलाई क्रमश शिलान्यासको कार्यक्रमहरु अगाडि बढाएको बताए । मन्त्रालयले विना भेदभाव आवश्यक्तालाई मध्यनजर राख्दै आम जनसमुदायको चाहना अनुसार काम गरिरहेको मन्त्री चौधरीले बताए ।
सो अवसरमा शहरी विकास मन्त्रलायका सचिव डा. रमेश सिंहले सभाहल, विवाह भवन, सडक, ढल निकास सहितको योजना अन्तर्गत ४० करोड भन्दा बढिको योजनाहरुको विभिन्न स्थानमा शिलान्यास गरिएको बताए । गौरमा शहरी विकास मन्त्रालयबाट २ अर्बको परियोजना संचालनमा रहेको बताउँदै सिंहले समग्रमा रौतहट जिल्लामा शहरी विकासको झण्डै ५ अर्व भन्दाको योजनाहरु संचालनमा रहेको जानकारी दिए । निर्धारित समयमा योजनाहरु पूरा गराउने दायित्व हाम्रो मात्रै नभई तपाईहरुको पनि भएको हुँदा समय समयमा अनुगमन गरेर गुणस्तरीय कार्य गराउन समेत उनले आग्रह गरे ।
गौर नगरपालिकाको मेयर शम्भु साहले रौतहट देशमै विकसित जिल्लाको रुपमा अगाडी बढ्ने र यहाँको गरिवी, अशिक्षा, वेरोजगारी दुर भई आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे । शिलान्यास कार्यक्रममा साँसद कल्याणी खड्का, सरला यादव, रामकुमार भट्टराई, डा. बंशीधर मिश्र, प्रदेश सरकारको मन्त्री नागेन्द्र यादव, प्रदेश साँसद बाबुलाल साह, राजदेवी नपाका मेयर भिखारी राय यादव, बौधीमाई नपाका मेयर प्रदीप यादव, वृन्दावन नपाका मेयर विनोद पटेल, दुर्गा भगवती गापाका अध्यक्ष शम्भु सिंह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही सहित स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech