सिमरा । उद्योग, कलकारखानाको विकास गरेर प्रदेशलाई समृद्ध बनाउने लक्ष्यका साथ प्रदेश सरकार मन्थनमा जुटेको छ ।
बाराको सिमरा आयोजित दुई दिने औैद्योगिक सम्मेलनमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री लगायत सरोकारबालाहरु मन्थन गरेका छन् ।
औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको आधार रहेको बताए ।
मुख्यमन्त्री राउतले उद्योग मैत्री वातावरण विना प्रदेश समृद्धिको परिकल्पना समेत गर्न नसकिने बताए ।
प्रदेश सरकारले उद्योगहरुको लागि विशेष प्याकेजको कार्यक्रमहरु ल्याए पनि संघीय कानूनको अभावमा कार्यान्वयन गर्न समस्या भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रिया अविलम्ब अगाडि बढाउन मांग गरे ।
सबैभन्दा बढी विदेश जाने प्रदेशको रूपमा रहेको मधेश प्रदेशका युवाहरुलाई उचित तालिमको ब्यवस्था गरि स्वदेश मै रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको योजनामा सहकार्य गर्न मुख्यमन्त्री राउतले उद्योगीलाई आग्रह समेत गरे ।
उद्योग धन्धाको स्थापनामा उत्पन्न समस्या समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि वढेको स्मरण गराउदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले वीरगंजमा स्थापना गर्न लागेको उद्योग विभागले ठुलो सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।
सो अवसरमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सम्मेलनबाट निष्किने निष्कर्षले प्रदेश सरकारलाई दिशा निर्देश गर्ने उल्लेख गर्ने विश्वास व्यक्त गरे ।
औद्योगिक विकासका लागि प्रदेश सरकारले अवलम्बन गरेको नीतिहरु बारे जानकारी गराउदै उनले प्रदेशको आर्थिक समृद्धि र विकासका लागी निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले औद्योगिक सम्मेलनले प्रदेशमा उद्योग स्थापनाको वातावरण निर्माण गर्नु का साथै वर्तमान आवश्यकता र कानूनी जटिलता समाधानको बाटो पहिल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सम्मेलनको उद्घाटन सत्रमा नेपालका लागी वेलायती राजदूत निकोला पोलिट, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिश मोर, उपाध्यक्ष राजेश अग्रवाल, मधेश प्रदेश संयोजक नरेश दास लगायतले आ–आफ्नो मन्तब्य राखेका थिए ।
प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउत लगायत प्रदेशस्थित उद्योगीहरुको सहभागिता रहेको थियो ।
नेपाल उद्योग परिसंघ, स्वदेशी, शिप परियोजना र युके एड को सहयोगमा मधेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा प्रदेशको आर्थिक विकासमा योगदान दिने २३ उद्योगहरुलाई पुरस्कृत समेत गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech