लालबन्दी । सर्लाहीको जानकीनगर र मूर्तिया वन क्षेत्र छेउछाउका बस्तीबाट केही दिनदेखि दैनिकजसो तस्करीको काठ बरामद भइरहेको छ ।
वन नजिकका बस्तीमा निगरानी बढाउँदा तस्करी गरेर लुकाइ राखेको सालका गोलिया धमाधम बरामद हुन थालेको हो । शुक्रबारसवडिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको गस्ती टोलीले बरहथवा नगरपालिका–९, मूर्तियास्थित शान्ति टोलमा झाडीभित्र लुकाइ राखेको दुई थान सालको गोलिया बरामद गरेको थियो ।
विशेष सूचनाको आधारमा त्यहाँ पुगेको वन कर्मचारीको गस्ती टोलीले १३ दशमलव ४८ क्यूफिट काठ बरामद गरी कार्यालयमा ल्याएको हो । सवडिभिजन वन कार्यालय मूर्तिया क्याम्प र सवडिभिजन वन कार्यालय जानकीनगरको संयुक्त टोलीले बिहीबार राति घुर्कौलीको जङ्गलबाट काठ तस्करीमा प्रयोग भएको दुईथान साइकल र त्यसै ठाउँको डाँडाटोलको बारीमा लुकाइछिपाइ राखेको सालको सात क्यूफिट बराबरको एक थान गोलिया बरामद गरेको थियो ।
त्यस्तै, वन गस्ती टोलीले साउन ११ गते राति जानकीनगर जङ्गलमा कुलोको पानीमा बगाएर चोरी निकासी गर्न लागिएको सालको पाँच थान गोलिया बरामद गरेको थियो । त्यसअघि साउन ७ गते सवडिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको गस्ती टोलीले बागमती नगरपालिका–१० बाट साल जातको चार थान गोलिया बरामद गरेको थियो ।
विभिन्न ठाउँबाट बरामद गरिएका सालका लाथ्रा तथा गोलिया तत्काल कटान गरेको नभइ केही साताअघि नै तस्करी गरेर लुकाइछिपाइ राखेको जस्तो देखिएको वनका कर्मचारीले बताएका छन् ।
जानकीनगर र मूर्तिया क्षेत्रको वनमा तस्करी बढेको गुनासोपछि त्यस क्षेत्रलाई उच्च निगरानीमा राखेर गस्ती बढाइएको सर्लाहीका डिभिजन वन प्रमुख मञ्जुर अहमदले बताए ।
कर्मचारीकै मिलेमतोमा काठ तस्करी भइरहेको पाइएपछि केही साताअघि जानकीनगर सवडिभिजन वन कार्यालयका सम्पूर्ण कर्मचारीलाई डिभिजन वन कार्यालयमा तानेर त्यहाँ नयाँ कर्मचारी पठाइएको थियो । डिभिजन वन प्रमुख अहमदले झाडी बुट्यान, कूलो, खोल्सालगायतका स्थानमा लुकाएर राखिएको काठ बरामद गर्नुका साथै वनमा थप तस्करी हुन नदिन गस्ती बढाइएको जानकारी दिए ।
वन कार्यालयबाट नियमित र प्रभावकारी ढङ्गले गस्ती नहुँदा सर्लाहीको मूर्तिया र जानकीनगरसहित लालबन्दी, सागरनाथ, श्रीनगर, परवानिपुर, पत्थरकोट, नारायणखोलालगायत क्षेत्रका वन क्षेत्रबाट बाह्रैमासजसो काठ तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech