काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई २२ लाख ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
आयोगको टोलीले मंगलबार दिउँसो मन्त्रालयका उपसचिव नेपाललाई घुस रकमसहित पक्राउ गरेको हो ।
उनलार्ई नक्सालस्थित आरोन रेस्टुरेन्टबाट पक्राउ गरिएको छ । नेपालको साथबाट ६ लाख र गाडिबाट १६ लाख ५० हजार रकम बरामद भएको बताइएको छ ।
अख्तियार स्रोतले जनाएअनुसार ६ लाख घुस रकम नेपालको साथबाट र बाँकी रकम उनी चढ्ने गाडीबाट बरामद भएको हो । उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको थियो । गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो ।
‘उहाँलाई रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा उहाँको गाडी हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको छ’ अख्तियारका प्रवक्ता श्यामप्रसा भण्डारीले भने ‘त्यो रकम कहाँबाट, किन र कसले दियो भन्ने उहाँले खुलाउन सक्नुभएको छैन । हामीले बुझेअनुसार हामीलाई उजुरी गर्ने टोलीभन्दा पहिले अरु कसैसँग त्यो रकम लिएर हिँडेको हाम्रो आशंका हो ।’
अख्तियारको टोलीले अहिले रकमको मुचुल्का बनाउनेदेखि अरु कागजात र प्रमाण संकलन गरिरहेको छ । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो ।
नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech