जनकपुरधाम । मुआब्जा वितरणबाट असन्तुष्ट महोत्तरी बर्दिबासका स्थानीयहरुले बिहीबार जनकपुरस्थित रेल्वे कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । तोकेको भन्दा कम मुआब्जा दिएको भन्दै स्थानीयहरु रेल्वे पीडित संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रेका हुन् । उनीहरु बिहीबार जनकपुरस्थित रेल्वे कार्यालय पुगेर नेपाल रेल्वे महाप्रबन्धक निरंजन झाको राजिनामा मागेका छन् ।

महाप्रबन्धक झाले आपूmहरुको मुआब्जा घटाएको आरोप उनीहरुको थियो ।

रेल्वेले महोत्तरीको भंगहादेखि बर्दिबाससम्म मुआब्जा वितरण कार्य अघि बढाएको छ ।

बर्दिबासमा प्रति कठ्ठा आठदेखि ८१ लाखसम्म मुल्यांकन गरेर मुआब्जा वितरण गरिएको रेल्वेका साइट इन्जिनियर विनोद ओझाले बताए । बर्दिबासका स्थानीयहरु आप्mनो गुनासो लिएर जनकपुर आएका थिए, उनले भने–उनीहरुलाई छलफलको लागि आउँदो बिहीबार बोलाइएको छ ।

सरकारले निर्धारण गरेको मुआब्जा भन्दा बढी दिन नसकिने उनले बताए ।

सरकारले निर्धारण गरेको भन्दा ५ लाख रुपैयाँ मुआब्जा कम दिएको भन्दै बर्दिबासका स्थानीयहरुले महाप्रबन्धक झाविरुद्ध प्रदर्शन गरेका हुन् ।

जनकपुरधाम–जयनगर–बर्दिबास रेल्वे ट्रयाक विस्तारका क्रममा जग्गाको मुआब्जाबापत प्रतिव्यक्ति वितरण गरिने भनिएको १५ लाखमा ५ लाख रुपैयाँ कम दिएकोले आफूहरुले महाप्रबन्धकको विरोधमा प्रदर्शन गरेको संघर्ष समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताए ।

रेल्वे विभागले पीडितलाई प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिएपनि पछि बैंक खातामा १० लाख रुपैयाँ मात्रै दिएर आफूहरुलाई ठगेको थापाको आरोप छ । थापाले महाप्रबन्धक झाले समस्या समाधानका लागि कुनै चासो नदिएको भन्दै उनको राजीनामा समेत माग गरिएको बताए ।

उनले बर्दिबासस्थित मुसहरबस्ती जाने बाटोका जग्गाहरुलाई अधिग्रहण गर्ने क्रममा विभागले १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेपनि १० लाख रुपैयाँ मात्र दिएको आरोप लगाए ।

विभागका साइट इञ्जिनीयर ओझाका अनुसार अहिलेसम्म एक अर्व ६ करोड रुपैयाँ मुआब्जा वापत वितरण भइसकेको छ । करिब ६० प्रतिशतले मुआब्जाको रकम पाइसकेको उनले थपे ।

भंगहादेखि बर्दिबाससम्मको १७ किलोमिटरमा मुआब्जा वितरण कार्य भइरहेको छ ।

सम्बन्धित खवर