जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका युवा नेता बजरंग कुमार यादव आगामी आमनिर्वाचनमा प्रदेशसभा सदस्यमा उम्मेदवार हुने दावेदारी पेश गरेका छन् । मृदुभाषि एवम् शालिन स्वभावका युवा नेता यादवको चर्चा धनुषा निर्वाचन क्षेत्र नं. ४(क) बाट सुरु भएको छ । उनका सहयोगी शुभचिन्तकहरुले जसपाबाट योग्य उम्मेदवार बताउँदै सामाजिक संजालमा पोष्ट गरेका छन् । पाँच दलीय गठबन्धन हुँदा जसपाले क्षेत्र नं. ४ को (क) प्रदेशसभा सिट पाउने करिब पक्का छ । उक्त सिटको लागि नेता यादव योग्य रहेको संगठनमै आवाज उठेको छ । वर्तमान प्रदेशसभा सदस्य ज्ञानेन्द्र कुमार यादव र मधेश प्रदेश समिति सदस्य शेषनारायण यादवले पनि ती क्षेत्रबाट दावी गरेका छन् । ज्ञानेन्द्र कुमार यादव लगातार दुई पटक त्याहाँबाट उम्मेदवारी दिइसकेका छन् भने शेष नारायण यादवले पनि संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिएका थिए । जनताले फ्रेश उम्मेदवार खोजेकोले जसपाको मधेश प्रदेश समिति सदस्य समेत रहेका बजरंग कुमार यादव योग्य मानिएको छ ।
जसपाको लागि आगामी निर्वाचन चुनौतीपूर्ण मानिएकोले पुरानो अनुहारलाई जनताले अस्वीकार गर्ने सम्भावनाको मध्यनजर गरेर पार्टी नेतृत्व पंक्तिले पनि फ्रेस चेहरा उतार्न खोजेको श्रोतको दावी छ । स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै पार्टीले अधिकांश पुरानो अनुहारलाई दोहोर्याउन नचाहेको पार्टी श्रोतको दावी छ । स्थानीय तहको निर्वाचनमा सबै पुरानो अनुहारले पराजयको सामना गरेको थियो । धनुषामा पनि पुरानो अनुहारले सम्मानजनक मत समेत ल्याउन सकेको थिएन् । नयाँ अनुहारले पार्टीको इज्जत जोगाएको थियो ।
आगामी आमनिर्वाचनमा पनि पुरानो अनुहारप्रति जनभावना नकारात्मक रहेकोले नयाँ र स्वच्छ छविको उम्मेदवार उतार्न पार्टी नेतृत्व पंक्ति उपर पनि दबाब छ ।
नयाँ अनुहार ल्याउँदा पार्टीप्रतिको विश्वास कायम रहने भएकोले नेतृत्व पंक्ति यो विषयमा गंभिर रहेको एक केन्द्रिय नेताले बताए । पार्टीका संस्थापक कार्यकर्तामध्ये एक बजरंग कुमार यादवले स्थानीय तहको निर्वाचनमा पनि जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदको दावेदार थिए । तर, पार्टीले अन्तिम समयमा उनलाई प्रदेशमा अवसर दिने आश्वासन दिएर लालकिशोर साहलाई टिकट दिएका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech