सर्लाही । वन तथा वातावरण मन्त्री प्रदीप यादवले बजेटको सुनिश्चितता नभएसम्म रुख काट्न नदिने बताएका छन् । निजगढमा बन्ने अन्तर्राष्ट्रिय बिमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर बिमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि बन मन्त्रालयबाट अनुमति दिने मन्त्री यादवले बताए ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको उद्घाटन गर्दै मन्त्री यादवले निजगढ बिमानस्थल मधेशको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको स्पष्ट पारे । उनले भने, रुख काटेर जग्गा खाली गराउने, अनि बस्ती बसाल्ने र मुआब्जा दिने । यस्तो अब चल्दैन । पहिला मुआब्जा पाएको जग्गा खाली गराएर बिमानस्थलका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमति दिँदैन । बन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउँदै उनले मन्त्रालयको निर्देशनबमोजिम बनजंगलको संरक्षणका लागि काम गर्न निर्देशन दिएका छन् ।
वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वन जंगल संरक्षणमा तदारुकता देखाउन उनले आग्रह गरेका छन् । तस्करसँग मिलेर काठ, ढुंगा र गिटीको लाइन दिने जस्ता गुनासोहरु सुनिएको बताउँदै उनले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न आग्रह गरे ।
राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउँदै उनले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech