जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै आन्दोलित भएका चुरे वनजंगल संरक्षण अभियानका अभियन्ताहरुले आइतबार जनकपुरमा बालबालिकासहित प्रदर्शन गरेका छन् ।
चुरे विनाशले बालबालिकाको भविष्य समेत जोखिममा परेको भन्दै बालबालिकासहित चर्को घाममा प्रदर्शन गरेका हुन् ।
भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध आन्दोलित भएका हुन् । पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले आइतबार ‘बालबालिका’ आन्दोलन गरेका छन् ।
भूमिहीन सुकुम्वासीहरु घरबारविहीन रहेको र उनीहरुको बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले बच्चाहरुलाई राखेर प्रदर्शन गरिएको चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए ।
‘भूमिहीनलाई भूमि देऊ, यी बालबालिकाको भविष्य बनाऊ’ नाराका साथ आफूहरुले बालबालिकासहित प्रदर्शन गरेको उनले बताए । आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएकोसमेत उनले बताए ।
बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेस प्रदेश सरकार गम्भीर नभएको उनको गुनासो छ ।
आन्दोलनकारीले मधेश प्रदेश सरकारका मन्त्रीहरुलाई सारी, ब्लाउज, चुरा, पेटीकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध गरेका थिए । यसअघि लालटेन जुलुश प्रदर्शन गरेका थिए ।
यी विरोधपश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेस आन्दोलनभन्दा पनि ठूलो र अन्तिम आन्दोलन हुने संयोजक यादवले चेतावनी दिए ।
यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् । जनकपुरधाममा चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले विगत १९ दिनदेखि रिले अनसन गर्दै आएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech