लालबन्दी । चर्को ब्याज अर्थात् मिटरब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोप लागेका सञ्जय साह रौनियारलाई सर्लाही ल्याइएको छ ।
केही दिनअघि महोत्तरीको बर्दिवासबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई त्यहांँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको हो । ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर निवासी रौनियारविरुद्ध ठगी आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो वर्षौ अघिदेखि आइरहेको थियो । सो गुनासोसहित प्रहरीमा उजुरी नै परेपछि लामो समयसम्म भारतमा लुकिछिपी बस्दै आएका रौनियारलाई प्रहरीले यो पटक भने पक्राउ गर्न सफल भएको हो ।
आईतबार सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद लिएर रौनियारमाथिको अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका निमित्त प्रमुख डीएसपी विजय यादवले बताए । पछिल्लो समय मधेशका जिल्लामा घर व्यवहार धान्न मिटरब्याजमा ऋण लिने विपन्न वर्गका मानिसहरु ऋण बुझाउन नसक्दा बिल्लीबाठ हुनेक्रम बढेको छ ।
साहुबाट लिएको ऋणको पैसा भन्दा दोब्बर÷तेब्बर बढी पैसा बुझाउँदा पनि कहिल्यै ऋण चुक्ता नहुँदा पीडितहरुले स्थानीय स्तरसँगै काठमाण्डौंमै पुगेर समेत आन्दोलन गर्दै आइरहेका छन् । सर्लाही प्रहरीले यसअघि ‘मिटरब्याजी’ आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह र रामबाबु राय यादवविरुद्ध पनि ठगीकै आरोपमा मुद्दा दायर गरी कारवाही गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech