जनकपुरधाम । जानकी आँखा अस्पतालका नवनियुक्त अध्यक्ष विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । अस्पतालका निवर्तमान अध्यक्ष आनन्द (गंगाराम) यादवले गैरकानूनी तरिकाले आपूmलाई हटाएको भन्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयसहित नवनियुक्त अध्यक्ष विरुद्ध मुद्दा दर्ता गराएका हुन् । साउन २२ गते उनले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका हुन् । गंगारामलाई गएको साउन ८ गते हटाएर नवनियुक्त अध्यक्ष नरेश प्रसाद सिंह अस्पतालमा हाजिर भएका थिए । गंगारामको कार्यकाल पूरा हुन नपाउँदै नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष सुदर्शन नेपालले अध्यक्षमा सिंह र कोषाध्यक्षमा धिरेन्द्रमोहन झालाई नियुक्त गरेका थिए । अस्पताल पदाधिकारीको कार्यकाल चार वर्ष रहेको छ । २०७७ माघ १० गते गंगाराम अस्पतालको अध्यक्ष नियुक्त भएका थिए । उनीसंगै कोषाध्यक्षमा संजय साह नियुक्त भएका थिए । अध्यक्षमा गंगाराम नियुक्त भएदेखि अस्पतालमा व्यापक सुधार भएको कर्मचारीहरुले बताएका छन् । उनी आएदेखि अस्पताल लगातार दोश्रो वर्ष मुनाफा कमाएको हो । २०७७ मा चार करोड नाफा कमाएको जानकी आँखा अस्पतालले २०७८ सालमा चार करोड बढी नाफा कमाएको अस्पताल श्रोतले बतायो ।
अस्पतालको विकृति हटाएर व्यवस्थित तरिकाले संचालन गर्न लाग्दा राजनीति प्रतिसोधका कारण गंगारामलाई हटाइएको हो । निश्पक्ष रुपमा काम गरेर उनले अस्पतालमा सिस्टमको विकास गरेको एक जना कर्मचारीले बताए । उनले अस्पतालको लाखौ फजुल खर्च बन्द गराएका थिए । तर, सरकार परिवर्तनसँगै नेपाल रेडक्रस सोसाइटीको अध्यक्ष फेरिएसँगै जानकी आँखा अस्पतालको पदाधिकारी हेरफेर गरिएको हो ।
नेपाललाई शेरबहादुर देउवाले रेडक्रसको तदर्थ समिति अध्यक्ष नियुक्त गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष नेत्र बहादुर तिमिल्सिनालाई हटाएर नेपाललाई नियुक्त गरिएको हो । अध्यक्ष नेपालले नै कार्यकाल पूरा नहुँदै गंगारामलाई हटाएर सिंहलाई नियुक्त गरेका हुन् । जानकी आँखा अस्पतालको पदाधिकारी हेरफेर गर्न भ्रष्टाचारको आरोप लागेका नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजिव थापाले चलखेल गरेको श्रोतको दावी छ । जानकी आँखा अस्पतालको अध्यक्षमा सिंहलाई नियुक्त गराउन थापाको भूमिका महत्वपूर्ण मानिएको छ । अध्यक्षको कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि सिंह फर्केर अस्पताल गएका छैनन् । उनी हाल नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पनि हुन् । राजनीति खिचातानीका कारण लामो समयदेखि घाटामा रहेको जानकी आँखा अस्पतालमा पुनः राजनीति सुरु भएको छ । आँखा अस्पताल जनकपुरको धरोहरको रुपमा रहेपनि राजनीति खिचातानीका कारण संकटमा परेको थियो ।
ब्ततबअजmभलतक बचभब
Copyright © 2025, All Rights Reserved | Developed By ProTech