मो.इन्तेखाब आलम

जनकपुरधाम । इस्लाम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मोहर्रम मनाउँदै छ । सोमबारदेखि मधेश प्रदेशका जिल्लाहरुमा मोहर्रम सुरु भएको हो ।

मोहर्रमलाई ताजिया र स्थानीय भाषामा दाहा मेला भनिन्छ । सोमबारदेखि धनुषासहित मधेश प्रदेशका विभिन्न स्थानहरुमा दाहा मेला शुरु भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सिनुरजोडा, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर, हरिपुर, महोत्तरी, सिरहा, सर्लाही, रौतहट लगायतको जिल्लाका विभिन्न गाउँहरुमा दाहा मेलाको आयोजना गरिएको छ ।

मोहर्रम इस्लाम धर्मावलम्बीहरुको पर्व रहेपनि यसमा हिन्दूहरु पनि हर्षोल्लासका साथ सहभागी हुने गरेका छन् । सामाजिक सद्भावको अविश्वसनीय उदाहरण दाहा मेला रहेको मुस्लिम अगुवाहरु बताउँछन् । मुस्लिम समुदायले आयोजना गर्ने यो मेलामा हिन्दूहरुको पनि उत्तिकै सक्रियता रहने गरेको तर्क उनीहरुको छ । मधेशमा मनाउने गरिएको यस्तो चाडपर्वले समाजलाई भाइचाराको धागोमा बाँध्न बल पुर्याएको छ ।

इस्लामी पात्रोअनुसार हिजरी संवत् १४३९ को यो मोहर्रम महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारेखदेखि शुरु हुने मोहर्रम पर्व १० तारेखसम्म मनाइन्छ । मुसलमान धर्मावलम्बीले इद, बकर इद र मोहर्रमको दशमीलाई धुमधामका साथ मनाउने गरेका छन् । हजरत मोहम्मदका नाति हसन र हुसैन मध्ये हुसैन शहीद भएको सम्झनामा मुसलमानहरुले यो पर्व मनाउँदै आएका छन् । इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत अर्थात स्वर्ग पु¥याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी करबला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउने गरेको छ ।

सम्बन्धित खवर