जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको विज्ञापन विरुद्ध दलित अधिकारकर्मीहरुले ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रतिष्ठानले अघिल्लो समय करारमा कर्मचारी भर्ना गर्न गरेको विज्ञापन समूहगत आरक्षण विरुद्ध रहेकोेले यसलाई सच्याउनुपर्ने माग गर्दै प्रतिष्ठानमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाउदै रामो महराले भने, मधेश जनविद्रोह र मधेशी जनताको बलिदानीबाट स्थापित भएको संघीयताको प्रारुप बमोजिम प्रदेशमा समूहगत आरक्षणको व्यवस्था रहेको छ ।

प्रतिष्ठानले दलितको अधिकार खोसेको आरोप उनीहरुले लगाए । प्रदेश प्रदेश सभाबाट पारित प्रदेश निजामती सेवा ऐन २०७७ मा समूहगत आरक्षणको स्पष्ट व्यवस्था भएतापनि प्रतिष्ठानले आरक्षण सम्वन्धि रहेको व्यवस्थाको अपहेलना गरी कर्मचारी भर्ना सम्वन्धि सूचना आह्वान गर्नु सम्पूर्ण मधेश आन्दोलन र शहिदहरुको अपमान गरेको उनले बताए ।

यसरी बदनियतपूर्वक आह्वान गरिएको कर्मचारी भर्ना सम्वन्धिको सूचना रद्द गरी ३ दिन भित्रमा समूहगत आरक्षणको व्यवस्था गरी कर्मचारी भर्नाको व्यवस्था गरिएन भने बाध्य भएर संघर्षको कार्यक्रम अगाडी बढाउने महराले चेतावनी दिए ।

समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेशका अध्यक्ष समेत रहेका रामो महरा, संयुक्त दलित संघर्ष समिति मधेश प्रदेशका चन्देश्वर दास, राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रीय अध्यक्ष चन्देश्वर सदा, पिछडावर्ग (ओबिसी) अभियन्ता बलिराम कापरी, विद्यार्थी नेता नवीन यादव, डोम समुदाय उत्थान नेपाल, धनुषाका अध्यक्ष सरोज मडिक डोम, नेपाल सरसफाई कर्मचारी संघ अध्यक्ष इन्द्रजित मेस्तर, दलित महिला संघ, धनुषाकी सरस्वती मण्डल लगायतका टोलीले ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रतिष्ठानको विज्ञापनमा उच्च अदालतमा समेत मुद्दा परेको छ । यता पुरानो कर्मचारीहरुले पनि प्रतिष्ठानको विरोध गर्दै आएका छन् । प्रतिष्ठानले एकैपटक करिब दुई सय पुरानो कर्मचारीलाई हटाएर करारमा नयाँ कर्मचारी भर्ना गर्न लागेको हो । २०५ सिटको लागि चार हजार बढी आवेदन परेको छ । प्रतिष्ठानले विज्ञापन रद्द गरेमा आवेदकले विरोध गर्ने छन् । साबिकको प्रादेशिक अस्पताललाई प्रतिष्ठानले आप्mनो मातहत लिएसँगै विवाद सुरु भएको थियो । प्रादेशिक अस्पतालका मेडिकल सुप्रिटेण्डेन्ट डा. प्रमोद यादवलाई हटाएर प्रतिष्ठानको उपकुलपति डा. रामकेवल साहले हतारमा उनको कार्यकक्ष कब्जा गरेका थिए । मेसुको कार्यकक्षमा बसेर डा. साहले अस्पताल चलाउँदै आएका थिए । यता, तत्कालीन मेसु लगायत कर्मचारीहरुले पनि उनको कार्यशैलीको विरोध गरेका थिए । डा. साहले आप्mनो कार्यकक्ष छाडेर मेसुलाई अस्पतालबाट हटाउन उनको कार्यकक्ष कब्जा गरेको आरोप लागेको थियो ।

सम्बन्धित खवर