जनकपुरधाम । तराई मधेशमा दाजुभाई तथा दिदीबहिनीको पर्व रक्षा बन्धन शुक्रबार(आज) हर्षोल्लासका साथ मनाउँदै छ । दिदीबहिनीले आफ्ना दाजुभाईको दीर्घायुको कामना गद रक्षाबन्धन मनाउँदै छन् ।
दाजुभाई तथा दिदीबहिनीको यो पवित्र पर्वका अवसरमा उनीहरुले आ–आफ्ना दाजु भाईको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै नाडीमा रक्षाबन्धन बाँधी यो पर्व मनाउँदै छ ।
दिदीबहिनी र दाजुभाईको प्रेम तथा कुशल जीवनको कामनासँग जोडिएको यो पर्वमा दिदी बहिनीको हातबाट दाजु भाईले रक्षाबन्धन लगाउँने रिती रिवाज सदियौंदेखि चल्दै आएको छ । यसरी रक्षाबन्धन गरेपछि दिदी बहिनीले मिठाई तथा अन्य खाने कुरा खुवाउँने र दाजु भाईले उपहार दिने गर्छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते शुक्रबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउनुपर्ने जनाएको छ । यो पर्व साउन २६ गते बिहीबार मनाउनुपर्ने भनी केही सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट भइरहेको प्रचार–प्रसार शास्त्रसम्मत नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस वर्षको जस्तो तिथिको अवस्था विसं २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४ र १९९४ मा भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । ती वर्षमा पनि रक्षाबन्धनकै दिन गाईजात्रा पर्व मनाइएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech