जनकपुरधाम । जनकपुरबाट अटो रिक्सा रिजर्भ गरी चालकको हत्या गर्ने गिरोहलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ माछा बजार बस्ने १८ वर्षीय अर्जुन साहलाई हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकमा गएको साउन २० गते अटोरिक्सा चालक साहलाई हत्या गरी शव नहरमा फालेको घटनामा संलग्नहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए ।

हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी लोहारपट्टी–४ का ३२ वर्षीय जीतकुमार यादव, २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम–१८ का २५ वर्षीय सन्तोष कुमार, धनुषा औरही गाउँपालिका–२ पौडेश्वरकी २१ वर्षीय प्रमिला महरा र २७ वर्षीय विगुल मुखिया विनलाई प्रक्राउ गरिएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।

प्रमीला र उनका श्रीमान् बिगुल मुखियाले कृष्ण यादवसँग मिलेर अर्जुनको हत्या गर्ने योजना बनाएको र कृष्ण यादवले पूर्वयोजनाअनुसार आफ्नै दाजु जीतकुमार र सन्तोष कुमारलाई ३० हजार रुपैयाँको प्रलोभन दिई अर्जुनको हत्या गर्न लगाएको प्रहरीले जनाएको छ ।

लेनदेनको तमसुक कागज बनाएको विषयमा विवाद हुँदा पूर्वयोजनाअनुसार जीतकुमार यादव, कृष्ण यादव र सन्तोष कुमारले अर्जुनलाई महोत्तरीको फूलबरीयासम्म १ हजार रुपैयाँमा रिक्सा रिजर्भ गरी जाने भन्दै झुक्याएर लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकमा पुगेपछि रिक्सा चालक अर्जुनलाई जीतकुमार र सन्तोष कुमारले गम्छाले घाँटीमा पासो लगाएर हत्या गरी सडकभन्दा पश्चिम छेउको नहरमा फालेको प्रहरीले बताएकको छ ।

साहको हत्यापछि रिजर्भ गरी लगेको रिक्सा जीतकुमार यादवले चलाएर जनकपुरधाम–७ मुसहरी टोलस्थितमा जानकी सप्लायर्स बालुवा डिपो नजिकैको हिलो सडकमा छाडेर फरार भएका थिए ।

करिब एक वर्षअघि प्रमीला, बिगुल र कृष्णले अर्जुनको घरबाट करिब १ लाख नगद र सुनका गरगहना चोरी गरेका थिए । चोरी भएको ६ महिनापछि अर्जुनकी आमाले उनीहरुविरुद्ध प्रहरी कार्यालयमा उजुरी गर्ने भएपछि आपसी छलफल गरी चोरी भएको रकम तिर्न बिगुल मुखियाले १ लाख १७ हजार र कृष्ण यादवले २ लाख ४६ हजारको तमसुक बनाइदिएका थिए ।

तमसुक बनाएर उनीहरु लामो समयसम्म सम्पर्कविहीन भएका थिए । करिब २० दिनअघि अजुर्नकी आमाले तमसुक बनाएकाहरुलाई सोहीअनुसारको रकम नदिएपछि प्रहरी कार्यालयमा उजुरी गर्ने धम्की दिएका थिए । पैसा तिर्न नसकेपछि प्रहरी कार्यालयमा उजुरी दिने धम्कीको रिसिइबीका कारण प्रमिला महरा, उनको श्रीमान् बिगुल मुखिया र कृष्ण यादवले अजाय साह र उनको आमालाई हत्या गरी गरगहना, घरमा रहेको नगद तथा उनीहरुले बनाएको तमसुक लुटने योजना बनाएका थिए ।

रिक्सा चालक अर्जुनको अपहरण गरी हत्या भएको बुवा दिलीप साहले दिएको निवेदनअनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरी र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको संयुक्त टोलीले अनुसन्धान गरी आरोपितहरुलाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साहले बताए ।

सम्बन्धित खवर