जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै आन्दोलित भएका चुरे तथा वन जंगल संरक्षण अभियानले भदौ ९ गते मुख्यमन्त्री लालबाबु राउतको पुतला दहन र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरेको छ ।
तेश्रो चरणको आन्दोलनको घोषणा गर्दै अभियानले मुख्यमन्त्रीको पुतला दहन र कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
अभियानले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर अभियानका संयोजक सुनिल कुमार यादवले भदौ १ गते मधेश प्रदेशका आठ वटै जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाउने, भदौ २, ५, ६ र ७ गते आठै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, भदौ ८ गते आठ वटै जिल्लाको सदरमुकाममा तीनै तहको सरकार विरुद्ध प्रदर्शन तथा कोण सभा गर्ने जस्ता कार्यक्रमहरु रहेको बताए ।
चुरे तथा वन जंगल संरक्षणको माग गर्दै अभियानीहरुले गएको २६ गतेदेखि जनकपुरधामको जनकचोकमा रिले अनसन बन्दै आएका छन् । उनीहरुले दोश्रो चरणका आन्दोलन अन्तर्गत प्रदेश सरकारलाई चुरा, साडी देखाउदै विरोध प्रदर्शन गरेको थिए । यसअघि पहिलो चरणमा उनीहरुले दिउँसै लालटेन बालेर सरकारको ध्यानाकर्षण गरेको थियो भने झारु जुलुश पनि गरेका थिए । उनीहरुले बालबालिकालाई पनि जुलुशमा ल्याएर सडकमा सुतेका थिए । तर, प्रदेश सरकारले मागप्रति गंभिरता नदेखाएपछि तेश्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको संयोजक यादवले बताए ।
विगतमा विभिन्न प्रकारको आन्दोलन तथा जनकपुरधामको जनक चौकमा गरेको रिले अनसन र आमरण अनसनपछि ७ बुँदे सहमति हुँदा पनि माग पुरा नभएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको यादवले बताए ।
चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता तथा मारुती सीमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा सम्वन्धमा छानविन गर्न मधेश प्रदेश सरकारले २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गर्नुपर्ने, तराई मधेशका दलित भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरु भूमि अधिकारबाट वञ्चित रहेकोले उनीहरुलाई तत्कालै गास वास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानिय सरकारद्धारा उठीबास लगाउने कार्य वन्द गर्नुपर्नेलगायतका मागसहित विगतदेखि नै पटक पटक आन्दोलन गर्दै आएका छन् ।
संयोजक यादवले घोषित आन्दोलनको कार्यक्रममा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी तीन तहको सरकारले लिनुपर्ने बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech