जनकपुरधाम । प्रदेशसभा सदस्यद्वय ज्ञानेन्द्र कुमार यादव र चमेली देवी दाससहितका नेताहरुलाई साधारण सदस्य समेत नरह्ने गरी कारबाही गर्नको लागि जनता समाजवादी पार्टी(जसपा) लक्ष्मीनियाँ गाउँपालिका समितिले केन्द्रलाई सिफारिस गरेको छ ।

स्थानीय तहको निर्वाचनमा प्रदेशसभा सदस्य यादव र दासले पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको आरोप लक्ष्मीनियाँ गाउँपालिका समितिले लगाएको हो । यादव पूर्वमन्त्री हुन् भने दास हालै केन्द्रीय सदस्य मनोनित भएकी छन् । उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरह्ने गरी कारबाही गर्नको लागि केन्द्रमा सिफारिस गरिएको जसपा लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष लालबाबु यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । पार्टीबाट बागी भएर उम्मेदवारी दिएका जिल्ला सदस्य सत्रुधन यादवको चुनावी कैम्प नै चमेली दासले आप्mनो घरमा संचालन गरेको आरोप विज्ञप्तिमा लगाइएको छ । पार्टीबाट बागी भएर सत्रुधन यादवले बहुजन समाजवादी पार्टी प्रवेश गरेर लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनीसँगै गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष इन्द्रकला देवीले पनि बहुजन समाजवादी पार्टीबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । जिल्ला सदस्य समेत रहेका सत्रुधन यादव र इन्द्रकला देवीलाई पनि साधारण सदस्य समेत नरह्ने गरी कारबाही गर्नको लागि गाउँपालिका समितिले सिफारिस गरेको हो । अर्का जिल्ला सदस्य दुखरण यादवलाई पनि कारबाही गर्नको लागि सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी दिएका गणेश कुमार यादव र उमेश यादवलाई यसअघि नै कारबाही गरिसकेको बताउँदै गाउँपालिका अध्यक्ष यादवले उनीहरुको सदस्यता समेत खारेज गर्नुपर्ने माग गरे । गणेश यादव पार्टीका गाउँपालिका उपाध्यक्ष थिए भने उमेश लक्ष्मीनियाँ–६ का पार्टी वडाध्यक्ष थिए । उनीहरु सबै जना पार्टी उम्मेदवारलाई असहयोग हुने गरी उम्मेदवारी दिएका थिए ।

सम्बन्धित खवर