वीरगञ्ज । अन्य जिल्ला पठाउन लागेको ६ ट्रक मलखाद आइतबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नियन्त्रणमा लिएका छन् । पर्साका किसानलाई मलको अभाव भइरहेको बेला अन्य जिल्लामा पठाउन नहुने भन्दै मेयर सिंहले मलसहित ६ वटै ट्रक नियन्त्रणमा लिएर वीरगंज १० स्थित बाल मन्दिर प्राङ्गणमा राखेका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयबाट मल बोकेर ६ वटा ट्रक अन्य जिल्ला जाने तयारीमा थियो ।
कार्यालय प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार ती ट्रक पर्वत, पोखरा, हेटौडा, चपुर लगायतका स्थानमा जानका लागि तयारी अवस्थामा थिए ।
किसानले पटकपटक मलको माग गर्दा पनि नसुन्ने सरकारलाई सचेत गराउनका लागि मल बोकेको ट्रकलाई नियन्त्रणमा लिइएको मेयर सिंहले बताए । आक्रोशित हुँदै उनले थपे, “यहीँबाट मल देशैभर वितरण हुने तर यहाँकै किसानले नपाउने, धुलो मात्रै खाने । यही बाटो भएर अरु जिल्लामा गइरहेको हेरेर चित्त बुझाउन अब हामी सक्तैनौ, सरकारले पनि यस बारेमा गम्भिर रुपमा सोच्न आवश्यक छ, नत्र मल खरिद गर्ने र वितरण गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्छ । हामी आवश्यक्ताअनुसारको मल वितरण गर्छाै ।
कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख चौलागाईले १६ वटा जिल्लामा निश्चित तोकिएकै परिमाणमा मल पठाउने गरेको जानकारी दिए ।
प्रादेशिक मन्त्रालयबाट प्राप्त भएको ८ सय २३ टन मल पर्सा जिल्लामा वितरण गर्न थालिएको पनि उनले जानकारी दिए । करिब १७ हजार बोरामध्ये वीरगञ्ज महानगरको भागमा २७ बोरा मल परेको उनको भनाई छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech