जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा मधेश प्रदेशको राजधानी जनकपुरमा मधेशवादी दलहरुले सोमबार विरोध गरेका छन् ।

गठबन्धन सरकारका घटक दल जनता समाजवादी पार्टी(जसपा) जनकपुर नगर समितिले सोमबार साँझ जनकपुरमा राष्ट्रपति भण्डारीको पुतला दहन गरेको छ । जनकपुरको जनकचोकमा नगर अध्यक्ष विष्णुदेव साहको नेतृत्वमा जसपाका कार्यकर्ताहरुले राष्ट्रपति भण्डारीको पुतला दहन गरेका हुन् । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले पनि राष्ट्रपति भण्डारीको उक्त कदमको विरोधमा प्रदर्शन गरेको थियो । लोसपाका धनुषा अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहको अगुवाईमा लोसपाले सोमबार जनकपुरमा विरोध प्रदर्शन गरेको हो । यसअघि सोमबार बिहान धनुषामा पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेर विरोध गरिएको थियो ।

राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले धनुषाको ढल्केवरमा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ।

सोमबार बिहान नेपाली कांग्रेसको मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका हुन् । केन्द्रको निर्देशन बमोजिम राजमार्ग बन्दको कार्यक्रम गरिएको कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोले बताए ।

प्रदर्शनको क्रममा नागरिकता पीडितहरुको सहभागीता रहेको थियो । उनीहरुले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । बन्दकर्ताहरुले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो । यस्तै डा. सीके राउत नेतृत्वका जनमत पार्टीले पनि राष्ट्रपति भण्डारीको उक्त कदमको विरोधमा प्रदर्शन गरेको हो ।

दुबै सदनबाट पारित भइसकेको नागरिकता बिधेयक राष्ट्रपति भण्डारीले आइतबार पुनः प्रतिनिधिसभामा फिर्ता गरेकी थिइन् ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग