जनकपुरधाम । मधेश प्रदेश सरकाले संघीय सरकार विरुद्धको आन्दोलन मंगलबारदेखि स्थगित गरेको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले आमचुनाव पछि प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले आन्दोलन स्थगित गरेको हो ।

संघीय सरकारले आमचुनावपछि प्रहरी समायोजन गर्ने संदेश प्रदेश प्रमुख मिश्रलाई पठाएपछि उनले प्रदेश सरकारलाई सो आश्वासन दिएका हुन् । प्रदेश प्रमुखको आश्वासनपछि लगातार तीन दिनदेखि बस्दै आएको धर्ना कार्यक्रम समेत स्थगित भएको छ । प्रदेश सरकारले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना कार्यक्रम गर्दै आएको थियो ।

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा धर्ना कार्यक्रम स्थगित गरेका छन् । प्रदेश प्रमुख मिश्रले मुलुक चुनावमा होमिएकाले चुनावपछि प्रहरी समायोजन हुने प्रधानमन्त्री शेर बहादुर देउवाले जानकारी दिनु भएकाले धर्ना कार्यक्रम स्थगित गर्नका लागि प्रदेश सरकारलाई आग्रह गरेको बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री वालकृष्ण खाँडसहित सरकारमा रहेका दलका शीर्ष नेताहरूले प्रहरी समायोजनको काम मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावपछि गर्ने आश्वासन दिनु भएकाले धर्ना कार्यक्रम स्थगित गरेको बताए ।

प्रधानमन्त्री आफैले फोन गरेर समायोजनको तयारी आफूहरूले पनि गरेको बताउँदै अरू केही विषयहरू मिलाउनु पर्ने भएकाले चुनावपछि समायोजन गर्ने विश्वास दिलाएपछि हालका लागि धर्ना सहितको आन्दोलनको कार्यक्रम स्थगित भएको मुख्यमन्त्री राउतले बताए ।

उनले प्रहरी समायोजन सम्बन्धी ऐन निर्माण भइसकेकाले चुनाव लगतै बन्ने सरकारले प्रहरीको समायोजन गर्नेमा आफूहरू पूर्ण रुपमा विश्वस्त रहेको मुख्यमन्त्री राउतले बताए ।

मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश प्रहरी ऐन बनाएका कारणले संघीय सरकारलाई प्रहरी समायोजन सम्बन्धी ऐन बनाउनका लागि बाध्य पारेको बताउँदै नेपाल सरकारले प्रहरी समायोजनको सबै प्रक्रिया पुरा गरेकाले समायोजनमा चुनाव पछि ढिलाइ हुने कुनै कारण नै नभएको बताए ।

धर्ना कार्यक्रमको संयोजन मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गरेका थिए । साउन २९ गते आइतबारबाट धर्ना सुरु गरेका थिए । यसअघि साउन २२ गते प्रहरी समायोजनको माग गर्दै प्रदेश सरकारले प्रदेश प्रमुख मिश्रमार्पmत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।

सम्बन्धित खवर