जनकपुरधाम । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आगामी मंसिर ४ गते हुने चुनाव भयरहीत, निष्पक्ष र मर्यादित बनाउन प्रहरीको भूमिका महत्वपूर्ण हुने तर्क गरेका छन् ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखा र प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठीको मंगलबार उद्घाटन गर्दै गृहमन्त्री साहले मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सफल बनाउन प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए । उनले अपराध अनुसन्धानमा समयसँगै नेपाल प्रहरीले पनि आधुनिकीकरण गर्दै अघि बढनुपर्नेमा जोड दिए ।

आमचुनाव भयरहीत वातावरणमा हुन्छ ः महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहीत र निष्पक्ष हुने प्रतिबद्धता जनाएका छन् ।

आइजीपी सिंहले भयरहीत र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उदेश्य रहेको बताए ।

उनले अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेबिच कहिलेकाही एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तीनै निकायबिचको समन्वय राम्रो हुनुपर्ने बताए ।

अपराध अनुसन्धानलाई सहज बनाउन नै यो गोष्ठीको आयोजना गरिएको आइजीपी सिंहले बताए ।

अहिले धेरै अपराध प्रविधिसँग जोडेर हुन थालेको भन्दै उनले प्रदेशस्तरमै साइबरसम्बन्धी उजुरी दर्ता गर्ने व्यवस्था मिलाउन प्रदेशका गृह तथा संचार मन्त्रीसँग आग्रह गरे ।

मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक मसाउद आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र कुमार झा, मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो सहित प्रहरीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लाका प्रहरी प्रमुखहरूको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग