जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प रहेको बताउनु भएको छ ।

समाजवादी युवा संघ नेपालको जनकपुरधाममा मंगलबादेखि शुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता बढाएकोले यसलाई अन्त्य गरि राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको विकल्प नरहेको दावी गरे ।

‘अहिलेको व्यवस्थाले निर्वाचन प्रणाली महंगिएको छ, उनले भने– करोडौ खर्चेर चुनाव जितेकाबाट सेवाको अपेक्षा गर्न सकिदैन् । निर्वाचन प्रणाली फेरौ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔ उनले भने–त्यसले भ्रष्टाचार नियन्त्रण गर्नुका साथै समृद्धिको बाटोमा लाग्न मद्दत पु¥याउछ ।’

सांसदहरु मन्त्री बन्ने व्यवस्थाको अन्त्य भए चुनावमा हुने खर्च आफै नियन्त्रित हुने र भ्रष्टाचार पनि अन्त्य हुने उनको कथन थियो ।

हतारमा ल्याइएको संविधानको वेथितिहरु एक पछि अर्को उजागर हुन थालेको उल्लेख गर्दै अध्यक्ष यादवले पहिचान सहितको संघीय पुनःसंरचना र निर्वाचन प्रणालीको विषयमा संविधान संशोधनको विकल्प नरहेको उनले थपे ।

परिवर्तन, सृजना, निर्माण, अविस्कारको पर्याय रहेका युवाहरु चेतनशिल र संगठित हुनु पर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष यादवले युवाहरुको लागि राज्यले शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु पर्ने उनले बताए ।

सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले परिवर्तनका संवाहक रहेका युवाहरु जसपाको प्रमुख प्राथमिकतामा रहेकोे र त्यसै अनुरुप मधेश सरकारले युवाहरुको शिक्षा र रोजगारको क्षेत्रमा अघि बढिरहेको बताए ।

युवाहरुको पहिलो आवश्यकता शिक्षा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले शिक्षामा आमूल परिवर्तनका लागि प्रदेश सरकारले तीनतीन वटा विश्वविद्यालय स्थापना गरेर काम अघि बढाइ सकेको बताए । उनले मधेशका युवाहरुलाई प्रदेशमै रोजगार उपलब्ध गराउन प्रदेश निजामति ऐन, प्रदेश प्रहरी ऐन ल्याई त्यसमा जनसंख्याको आधारमा आरक्षण एवं महिलाको लागि ५० प्रतिशत आरक्षण व्यवस्था समेत गरेको बताए ।

अध्यक्ष उपेन्द्र यादवले सरकारले जस्ताको तस्तै नागरिकता विधेयक राष्ट्रपति कहाँ पठाउने बताएका छन् । अव कुनै वहानामा राष्ट्रपतिले विधेयक फिर्ता पठाउन नसक्ने उनले तर्क गरे । अध्यक्ष यादवले अब पठाउने विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले कुनै बहाना गर्न नपाउने बताए ।

नागरिकलाई नागरिकता विहीन गर्नु अन्तराष्ट्रिय कानुन बमोजिम मानवता विरोधी रहेको भन्दै उनले राष्ट्रपतिलाई चेतावनी समेत दिए ।

युवा संघका अध्यक्ष समेत रहेका मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जसपाका कार्यकारिणी सदस्य सुशिला श्रेष्ठ, राजनीतिक समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादव, राजनीतिक समिति सदस्य लालकिशोर साह, प्रदेश सभा सदस्य राम अशिष यादव, अशोक यादव सहितका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । बुधबारसम्म चल्ने भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

सम्बन्धित खवर