जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा सत्ताधारी दलले मंगलबार पनि ठाउँ ठाउँमा विरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस धनुषाले लक्ष्मीनियाँ बजारमा मंगलबार दिउँसो चक्काजाम गरेको छ । राष्ट्रपति विद्या देवी भण्डारी विरुद्ध चर्का नाराबाजी गर्दै कांग्रेसी नेताहरुले दिउँसो चक्काजाम गरेका हुन् । लक्ष्मीनियाँ बजारस्थित जनकपुर–ढल्केवर सडकखण्डमा मोटरसाइकल तेस्र्याएर चक्काजाम गरेका थिए । राष्ट्रपति विरुद्ध चर्का नाराबाजी गर्दै उनीहरुले चक्काजाम गरेपछि जनकपुरबाट आवतजावत ठप्प भएको थियो । कांगे्रसका जिल्ला सचिव विजय यादवको अगुवाई भएको चक्काजाम कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं. ४ का क्षेत्रीय सभापति कुमरकान्त झा, पूर्व नगर अध्यक्ष धिरेन्द्रमोहन झा, जनकपुरधाम उपमहानगरपालिका–९ का पार्टी सभापति बिमलेश सिंह, वडाध्यक्ष परमेश्वर साह लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । यस्तै सिरहामा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ भने पर्सा जिल्लामा पनि माओवादी र कांगे्रसले संयुक्त रुपमा राष्ट्रपतिको विरोधमा प्रदर्शन गरेको छ । गएको आइतबार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता पठाएपछि सत्ताधारी दल विरोधमा उत्रेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech