जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) धनुषा जिल्ला कार्य समितिका वरिष्ठ उपाध्यक्ष सोमप्रसाद शर्माले पार्टी परित्याग गरेका छन् । नेता शर्माले बुधबार बिहान ढल्केवरमा पत्रकार सम्मेलन गरेर नेकपा(एस) परित्याग गरेको घोषणा गरेका हुन् । उनी मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतोको स्वकीय सचिव थिए । गत वर्ष मन्त्री नियुक्त भए लगत्तै महतोले स्वकीय सचिवमा शर्मालाई नियुक्त गरेका थिए । मन्त्रालयका अनुसार शर्माले साउन ३१ गतेसम्म मन्त्रीको स्वकीय सचिवको रुपमा छन् । उनले नियमानुसार साउन महिनाको सुविधा पाउने छन् । शर्माले भने बैशाख ६ गतेदेखि नै मन्त्रालय छाडेको दावी गरे ।

पार्टीको नेतृत्व तहप्रति व्यापक असन्तुष्टि व्यक्त गर्दै उनले प्रदेशका नेताहरु प्रति पनि आक्रोसित देखिए । नेताहरु परिवारवादमा लिप्त भएको आरोप लगाउँदै उनले नेकपा(एस)को अस्तित्व नरह्ने दावी समेत गरे ।

पार्टी परित्यागको घोषण गर्दै शर्माले मिथिला नगरपालिकामा १ सय २१ जनाको कार्यसमिति मध्ये ७३ जनाले आज(बुधबार)कै दिनदेखि पार्टी परित्याग गरेको दावी गरे । उनले जिल्ला कार्य समितिका २५ जना सदस्य पनि पार्टी परित्याग गर्ने तयारीमा रहेको दावी गरे ।

नेकपा (एस) नेतृत्वकर्ताले भागबन्डाको राजनीति गर्ने गरेको, श्रीमती र नातागोतालाई राजनीति अवसर प्रदान गरेको जस्ता दुःखद् अवस्था सिर्जना भएको र रुपान्तरण हुने अवस्था नदेखिएपछि आफुहरु सामूहिक रुपमा पार्टी परित्याग गरेको नेता शर्माले बताए ।

उनले आजकै मितिदेखि हामी नेकपा एसमा कुनै पनि पदमा छैनौं, पार्टी परित्यागको घोषणा गर्दछु, एक हप्ता भित्र छलफल गरेर कुन पार्टीमा आबद्ध हुने भन्ने निर्णय गर्ने बताए ।

पार्टी परित्याग गरेका साथीबीच गहन छलफल गरेर एक हप्ताभित्रमा रुपान्तरणका सहयात्री बन्न सकिने पार्टीमा आवद्ध हुने उनले बताए । शर्मा लगायत मिथिला नगरपालिका कार्य समितिका सदस्यहरुले पार्टी परित्याग गरेपछि मन्त्री महतो आप्mनै पालिकामा कमजोर भएका छन् । आगामी चुनावमा पनि मन्त्री महतोले प्रदेशसभामा उम्मेदवारी दिने चर्चा छ । नेता महतोलाई मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाले साथ दिदै आएको छ । शर्मा सहित स्थानीय नेताहरु पार्टी छाडेपछि नेकपा (एस) लाई क्षति भएको बताइएको छ । नेता शर्मा नेकपा एमालेतिर जाने संकेत गरेका छन् । नेकपा एमालेका नेताहरुले सामाजिक संजालमार्पmत उनलाई पार्टीमा स्वागत समेत गरिसकेका छन् ।

सम्बन्धित खवर