जनकपुरधाम । ‘भारत गौरव पर्यटक रेल’ आउँदो भदौ ११ गते पुनः जनकपुरधाम आउने भएको छ ।

दिल्लीबाट पर्यटक बोकेर रेल जनकपुरधाम आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए ।

रेलको बुकिङ भइरहेको छ, उनले भने– २७ अगस्तको साँझ रेल जनकपुरधाम आइपुग्छ । रामायण सर्किटसँग सम्बन्धित अयोध्या, नन्दिग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम् र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधामस्थित धार्मिक क्षेत्रलाई जोड्न पुनः पर्यटक रेल जनकपुरधाम आउन लागेको हो ।

५ सय भन्दा बढी पर्यटक बोकेर रेल जनकपुरधाम आउने उनले बताए । यसअघि गएको असार ९ गते भारत गौरब पर्यटक रेल जनकपुरधाम आइपुगेको थियो । जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री, प्रदेशसभा सदस्य, जनकपुरधाम उपमहानगरपालिका, वीरगंजस्थित भारतीय महावाणिज्य दूताबासका वाणिज्यदूत लगायतले पर्यटकको स्वागत गरेका थिए । धार्मिक पर्यटकको स्वागतमा जानकी मन्दिर लगायतको मठमन्दिरका साधुसन्त पनि जनकपुर रेल्वे स्टेशन पुगेका थिए ।

भारतको राजधानी नयाँदिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा धार्मिक पर्यटकहरु थिए । प्याकेजमा आएका पर्यटकहरुको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए ।

सम्बन्धित खवर