जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) का भ्रातु संगठन समाजवादी युवा संघ, नेपालको केन्द्रीय संयोजकमा योगेन्द्र राय यादव चयन भएका छन् । बुधबार जनकपुरमा सम्पन्न युवाहरुको राष्ट्रिय भेलाले मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री यादवलाई सर्वसम्मत संयोजक चयन गरेको हो ।

यादवको संयोजकत्वमा ६१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको हो । केन्द्रीय समितिबाटै १६ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।

आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने, आगामी ६ महिना भित्र राष्ट्रिय महाधिवेशन गर्ने, वडादेखि प्रदेश समितिसम्म पुर्न गठन गर्ने निर्णय भेलाले गरेको नवनियुक्त केन्द्रीय संयोजक यादवले बताए ।

आउँदो ६ महिना भित्र युवा संघको केन्द्रीय महाधिवेशन गराउने निर्णय भएको छ, उनले भने–यसअघि वडादेखि प्रदेशस्तरसम्मको सबै समितिहरु पूर्न गठन गरिने भएको छ । आउँदो चुनावमा पनि युवा संघले आप्mनो भूमिका सक्रियतापूर्वक निर्वाह गर्ने निर्णय गरेको संयोजक यादवले बताए ।

मंगलबारदेखि जनकपुरमा सुरु भएको युवा भेलामा ५६ जिल्लाको ३ हजार ३ सय ५६ जना युवा प्रतिनिधिहरुको उपस्थिति रहेको उनले दावी गरे ।

मंगलबार एक समारोहका बीच जनकपुर उद्योग वाणिज्य संघमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेपछि दुई दिवसीय युवा भेला सुरु भएको थियो ।

सम्बन्धित खवर